बर्दिवास, महोत्तरी ।
शहीद अजव लाल स्मृति प्रतिष्ठानको आयोजनामा वर्दिवास नगरपालिका–८, भगवती कृष्णनगर टोलमा “बलिदान राष्ट्रको लागि” राहत वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी तथा प्रतिष्ठानका अध्यक्ष कमरेड शिला सीको अध्यक्षतामा सम्पन्न भयो ।
राहत वितरण कार्यक्रममा २०३६ सालमा तत्कालीन निरंकुश शाही सत्ताका सेनाबाट हत्या गरिएका शहीद कृष्ण राणा मगरकी आमा गौरीमाया राणा मगर, परिवार सदस्य पबीमाया राणा मगर, दश वर्षे जनयुद्धका शहीद कमरेड भगवतीकी आमा पीरथीमाया स्याङ्वो, २०३६ सालकी घाइते सिता स्याङ्वो तथा अपाङ्ग टुकुमाया भुजेललाई राहत प्रदान गरिएको थियो ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रेमबहादुर सीले शहीद परिवार, अपाङ्ग तथा घाइतेहरुलाई सम्मान गर्दै नेकपा मात्र शहीदहरूको सम्मानमा अग्रसर रहेको बताउँदै अन्य कम्युनिस्ट नामधारी पार्टीहरूले शहीदको योगदानबाट प्राप्त परिवर्तनलाई स्वार्थका लागि प्रयोग गरिरहेको आरोप लगाए ।
अध्यक्ष कमरेड शिला सीले जनयुद्धको बलिदानबाट गणतन्त्र त स्थापना भएको भए पनि जनता पक्षीय गणतन्त्र अझै स्थापित नभएको उल्लेख गर्दै वैज्ञानिक समाजवादको स्थापनाका लागि एकीकृत जनक्रान्तिको मार्गदर्शनमा नेकपा निरन्तर संघर्षरत रहेको बताए । उनले कृषि उत्पादनमा आधारित आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्दै नेपाली समाजवादमार्फत शहीदहरूको सपना साकार पार्ने प्रतिबद्धता जनाए ।
उक्त कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य तथा मधेश प्रदेश इञ्चार्ज कमरेड अनिल सीको उद्घोषण गनुभएको थियो । कार्यक्रममा पार्टी पोलिटब्यूरो सदस्य त्रिलोक सी, कमरेड प्रेमबहादुर सी लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

