विजयकुमार साह
ढल्केबर, धनुषा । पछिल्ला केही केही वर्षयता सहरदेखि ग्रामिण क्षेत्रमा ‘स्ट्रीट लाइट’ सडक बत्ती जडानको काम तीव्र गतिमा बढेको छ । बाटो उज्यालो राख्न र सुरक्षाको दृष्टिकोणले जडान गरिएका यस्ता बत्तीले भने चराचुरुङ्गीको वासस्थानमा गम्भीर असर पर्न थालेको छ ।
चराविद्का अनुसार ‘स्ट्रीट लाइट’को कृत्रिम उज्यालोले चराचुरुङ्गीले रात र दिन छुट्याउन नसक्दा उनीहरूको जीवनचक्रमा गम्भीर असर पुगिरहेको छ । रातमा समेत उज्यालो भइरहँदा चराहरूलाई आहारा खोज्न, गुँड बनाउन र प्रजनन चक्रलाई कायम राख्न कठिन भइरहेको छ ।
मिथिला वाइल्डलाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डलले ‘स्ट्रीट लाइट’ का कारण चराचुरुङ्गीको वासस्थान सङ्कटमा पर्दै गएको बताउनुभयो । उहाँका अनुसार उनीहरूको जीवन सूर्य, चन्द्रमा र ताराको प्रकाशसँग जोडिएको हुन्छ तर कृत्रिम उज्यालोले उनीहरूको निद्रा, आहाराको खोजी, प्रजनन र उड्ने मार्गमा अवरोध पुग्ने गरेको छ ।
उहाँले भन्नुभयो, “धेरै प्रजातिका चरा तारा वा चन्द्रमाको उज्यालो हेरेर पनि बाटो पहिचान गर्छन् तर चर्को कृत्रिम उज्यालोका कारण उनीहरू गलत मार्गमा जान्छन् । जसले गर्दा गन्तव्यमा पुग्न सक्दैनन् र अत्यधिक थकाइले मृत्यु पनि हुनसक्छ ।” अध्यक्ष मण्डलका अनुसार ‘स्ट्रीट लाइट’ को प्रकाशमा जम्मा हुने कीरा तथा साना जीवले चरालाई आकर्षित गर्छन् तर त्यहीँ शिकार गर्ने जनावर बिरालो, उल्लु, स्याल आदिले सजिलै आक्रमण गर्ने मौका पाउँछन् । कृत्रिम प्रकाशले नर र पोथी चराको जोडी मिल्ने प्रक्रियामा पनि असर पार्ने गरेको उहाँको भनाइ छ ।
धेरै प्रजातिका चराहरू गीत गाएर वा आवाज निकालेर जोडी खोज्छन् । तर चहकिलो उज्यालोले उनीहरूको आवाजको प्रभाव घटाउँछ, जसले प्रजननमा बाधा पु¥याउँछ । धेरै ‘स्ट्रीट लाइट’ लाइट वरिपरि घुमिरहँदा थकाइ लागेर वा भवन, पोल, तारमा ठोक्किएर मर्ने गरेको अध्यक्ष मण्डलको भनाइ छ ।
यसै गरी वातावरण अभियन्ता तथा वृक्ष मानवका नामले परिचित सुरेश शर्माले अहिले सहरदेखि गाउँ–गाउँका चोकमा चहकिला बत्ती जडान गर्ने लहडले चराचुरुङ्गीको अस्तित्व सङ्कटमा परेको बताउनुभयो । उहाँले पनि भन्नुभयो, रातमा बसाइँ सर्ने साना प्रजातिका चरा उज्यालोका कारण बाटो बिराउँछन् कोही बत्तीमा ठोक्किएर घाइते हुन्छन् । चर्को उज्यालोले चराचुरुङ्गी मात्र होइन मानिसमा पनि मानसिक तनाव निम्त्याएको छ ।
शर्माका अनुसार ध्वनि, धुवाँ, माटो प्रदूषण, रासायनिक मल र विषादीको प्रयोगले पनि चराचुङ्गीको अस्तित्व सङ्कटमा परेको छ । विषादी मिसिएको अन्न वा मरेका किरा, फट्याङ्ग्रा खाँदा चराहरू विषाक्त भएर मर्ने गरेका छन् । त्यस्तै, नदी–पोखरीमा उद्योगबाट निस्कने रसायन मिसिएको दूषित पानी पिएर चरा मर्ने गरेका छन् ।
उहाँले भन्नुभयो, “तराईका जिल्लामा पछिल्ला केही वर्षमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्न थालेको छ । चरा विशेष गरी भँगेराहरू परम्परागत घरका भित्ताको प्वाल र छानामा गुँड लगाएर बस्ने गर्थे तर आधुनिक पक्की घर निर्माणसँगै गुँड बनाउने स्थान अभाव हुँदै गएको छ । त्यसले गर्दा पनि चराचुरुङ्गीको सङ्ख्या घट्दै गएको हो ।” चरासम्बन्धी एक अध्ययनले नेपालमा पछिल्लो समयमा ५७ प्रतिशत चराको सङ्ख्या घटेको र २२ प्रजाति लोप भइसकेको देखाएको छ ।
पर्यावरण अभियन्ता शर्माले चराचुरुङ्गीको संरक्षणका लागि स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारले समन्वय गरेर काम गर्न आवश्यक रहेको बताउनुभयो । चराको अस्तित्व सङ्कटमा पर्न थालेको अवस्थामा तीनै तहका सरकारले गम्भीर रूपमा चासो देखाएर समन्वयात्मक पहल गर्नुपर्ने उहाँका भनाइ छ ।
उहाँका अनुसार चराचुरुङ्गीको संरक्षणका लागि केही व्यावहारिक उपाय अवलम्बन गर्न जरुरी छ । न्यून उज्यालो भएका वा पहेँलो प्रकाशयुक्त बत्ती प्रयोग गर्नुपर्छ । यसले चराहरूको प्राकृतिक जीवनचक्रमा पर्ने असर न्यून गर्न सहयोग गर्छ ।
त्यस्तै उहाँले परम्परागत घर निर्माणलाई प्रोत्साहन गर्नुपर्ने र चराका लागि कृत्रिम गुँड निर्माण गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो, “आजभोलि पक्की घरमा चराका लागि गुँड बनाउने ठाउँ नै हुँदैन, त्यसैले कृत्रिम गुँड बनाउने अभियान चलाउनु पर्छ ।
त्यसै गरी मिथिला वाइल्डलाइफ ट्रस्टका अध्यक्ष मण्डलले जैविक कृषिको प्रवर्दनमार्फत चराहरुको आहारालाई सुरक्षित राख्न सकिने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “रासायनिक मल र विषादीका कारण चरा मर्ने क्रम बढिरहेको छ । त्यसैले जैविक कृषिलाई प्रोत्साहन गर्नुपर्छ ।” त्यस्तै, चराको सिकारलाई रोक्न कडा कानूनी व्यवस्था आवश्यक रहेको उहाँको भनाइ छ । गोरखापत्रबाट

