ढल्केबर, धनुषा । जनमत पार्टीका केन्द्रीय सचिव बीपी साहले मधेश प्रदेश सरकारलाई आर्थिक वर्ष २०८२÷२०८२ को नीति तथा कार्यक्रम एवं बजेटमार्फत जनजीविकासँग जोडिएका विषयमा गम्भीर ध्यान दिन सझाव दिनुभएको छ । शुक्रबार मुख्यमन्त्री सतिशकुमार सिंहलाई भेटेर उहाँले एक घर, एक रोजगारी र एसईई दिएका युवालाई अनिवार्य सैन्य तालिम प्रदान गर्नलगायत ११ बुँदे सझावपत्र बुझाउनु भएको हो ।
साहले साहले प्रत्येक परिवारका कम्तिमा एक सदस्यलाई रोजगार उपलब्ध गराउने ‘एक घर, एक रोजगारी’ कार्यक्रम ल्याउन आग्रह गर्नुभएको छ । यसले मधेशको गरिबी न्यूनीकरण र युवा पलायन नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्ने सझावपत्रमा उल्लेख गरिएको छ ।
साहले शिक्षा र स्वास्थ्य क्षेत्रमा कार्यरत निजी सेवा कर्मचारीको सम्मान, स्थायित्व र मनोबल वृद्धिका लागि वार्षिक एक लाख रुपियाँ नगद प्रोत्साहन अनुदानको व्यवस्था गर्न पनि प्रदेश सरकारलाई सुझाव दिनुभएको छ ।
महिलाको सशक्तीकरण र सुरक्षा प्रवद्र्धन गर्न मधेश यातायात सेवामार्फत आठवटै जिल्लाका सदरमुकामलाई जोड्ने सार्वजनिक यातायात सेवा सञ्चालन गर्दै महिलालाई निःशुल्क यात्रा सुविधा उपलब्ध गराउनुपर्ने सुझावपत्रमा भनिएको छ ।
सामान्य नागरिकले प्रयोग गर्ने मोटरसाइकलको नविकरण शुल्कमा छुट दिने, गङ्गालाल हृदयरोग अस्पतालको इकाइ मधेशमा विस्तार गर्ने र प्राथमिक इन्जेक्सन सेवा निःशुल्कक गर्ने प्रस्ताव पनि उहाँले अघि सार्नुभएको छ । त्यस्तै, एसईई उत्तीर्ण विद्यार्थीलाई छ महिनाको अनिवार्य आधारभूत सैन्य तालिम दिनुपर्ने सुझाव समेत उहाँले दिनुभएको छ ।
मधेशको इतिहास, सङ्घीयता र गणतन्त्रसम्बन्धी अध्ययन विद्यालय तथा कलेज तहमा समावेश गर्ने, ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेका स्थललाई जोड्दै सलहेस पर्यटन करिडोर निर्माण गर्ने, जानकी नवमीको अवसरमा मिथिला सांस्कृतिक रथ यात्रा आयोजना गर्ने प्रस्ताव पनि साहको सुझावपत्रमा समावेश छन् ।
त्यस्तै, सप्तेश्वरनाथदेखि छिरेश्वरनाथ लगायतका प्राचीन धार्मिकस्थललाई समेट्दै ‘महादेव धार्मिक करिडोर’ निर्माण गर्नुपर्ने तथा भारतसँग जोडिएका सीमावर्ती क्षेत्रको समग्र विकासका लागि छुट्टै योजना र कार्यक्रम ल्याउनुपर्ने साहको सुझाव छ ।
साहले मधेश प्रदेश सरकार सङ्घीयता, गणतन्त्र र पहिचानको सङ्घर्षका आधारमा स्थापित भएकाले अब यसले जनताको जीवनस्तर उकास्ने गरी गम्भीर र प्रभावकारी योजना ल्याउनुपर्ने बेला आएको बताउनुभएको छ ।

