ढल्केबर, धनुषा ।
धनुषाको ढल्केबरमा बालविवाह अन्त्यका लागि सात बुँदै मिथिला नगरपालिका घोषणापत्र जारी गर्दै पालिका स्तरीय बालिका सम्मेलन सम्पन्न भएको छ । लाइफ नेपालको आयोजनामा तथा मिथिला नगरपालिकाको समन्वयमा आयोजित पालिका स्तरीय बालिका सम्मेलनमा उक्त घोषणापत्र सार्वजनिक गरिएको हो ।
घोषणापत्रमा २०८३ साल वैशाखसम्म मिथिला नगरपालिकालाई बालविवाहमुक्त पालिका घोषणा गर्ने लक्ष्यसहितका विभिन्न प्रतिबद्धताहरू समेटिएका छन्। घोषणापत्रअनुसार पालिकाले बालविवाह विरुद्धका कार्यक्रम तर्जुमा गर्ने, विवाहका लागि अनिवार्य सिफारिसको प्रक्रिया लागू गर्ने, पूर्व सूचना प्रणाली स्थापना गर्ने, शिक्षा प्रवद्र्धनका लागि विद्यालय स्तरोन्नति गर्ने, तथा संघ, प्रदेश र अन्य संस्थासँग समन्वय गरी विशेष अभियान सञ्चालन गर्नेछ।
मिथिला नगरपालिकाकी उपप्रमुख सुनीता सिंह बुढाथोकीले मधेशमा सामाजिक र सांस्कृतिक रूपमा बालविवाहलाई अझै पनि स्वीकार गरिँदै आएको बताउँदै त्यसका कारण कानुनी प्रतिबन्ध प्रभावकारी रूपमा लागू गर्न कठिनाइ भइरहेको धारणा राख्नुभयो।
“हामीले बालबालिकाको भविष्य सुनौलो बनाउन, उनीहरूलाई शिक्षा, सुरक्षा र अवसर दिने वातावरण निर्माण गर्नतर्फ ध्यान केन्द्रित गर्नुपर्छ,“ उपप्रमुख बुढाथोकीले भनिन् । उहाँले बालविवाह विरुद्धको अभियान सफल बनाउन संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको पनि स्पष्ट पार्नुभयो ।
कार्यक्रममा बालिकाको अधिकार, शिक्षा र सशक्तिकरणका विषयमा छलफल गरिनुका साथै सहभागीहरूले बालविवाह अन्त्यका लागि पालिकाको पहललाई सकारात्मक रूपमा लिएका थिए। सम्मेलनले समाजमा व्याप्त बालविवाहजस्तो हानिकारक अभ्यास विरुद्धको अभियानलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ ।

