ढल्केवर, धनुषा ।
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको नगर अधिवेशन मंगलबार धनुषा जिल्लाको मिथिला नगरपालिका–५, ढल्केवरस्थित कर्भड हलमा सम्पन्न भएको छ । पार्टीका नगर अध्यक्ष धर्मबहादुर बुलनको अध्यक्षता र पार्टी सचिवालय सदस्य रामचन्द्र झाको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो ।
प्रमुख अतिथि झाले अधिवेशनलाई सम्बोधन गर्दै पार्टी सुदृढीकरणका लागि स्थानीय तहमा सशक्त सांगठनिक संरचना निर्माण आवश्यक रहेको बताए । उनले भने, “स्थानीय तह नै मूल राजनीतिमा जनताको प्रवेशद्वार हो । अब हामीले विचार, संगठन र नेतृत्व तीन वटै तहमा सुदृढीकरण गर्दै अगाडि बढ्नुपर्छ । आगामी निर्वाचनमा स्थानीय तहको निर्णायक शक्ति बनाउने लक्ष्यसहित हामीले अबको यात्रा तय गर्नुपर्छ।”
झाले युवा र महिला सहभागिता बढाउँदै स्थानीयस्तरमै सेवा र समर्पणको राजनीति गर्नुपर्नेमा जोड दिए । उनले अधिवेशनलाई पार्टीको संगठनात्मक सुदृढीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा वर्णन गरे ।
नगर अध्यक्ष धर्मबहादुर बुलनले कार्यक्रमलाई सम्बोधन गर्दै अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण सहभागीप्रति आभार व्यक्त गरे ।
अधिवेशनमा विभिन्न वडाका जनप्रतिनिधि, पार्टी नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रममा मिथिला नगरपालिका वडा नं ५ का वडाध्यक्ष रामचन्द्र महतो, वडा नं २ का वडाध्यक्ष बिहारी महतो, नगर स्तरीय नेताहरू, युवा तथा महिला संगठनका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।


