ढल्केवर, धनुषा ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश फुड फोरम मधेशको कृषि विकास, खाद्य सुरक्षा र आर्थिक समृद्धिका लागि महत्वपूर्ण कडी बन्ने विश्वास व्यक्त गर्नुभएको छ । धनुषाको लालगढमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मधेश प्रदेशको आयोजनामा सोमबार सुरु भएको दुई दिने ‘मधेश फुड फोरम’को उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले कृषि प्रधान मधेश प्रदेशको सम्भावनालाई पूर्णरूपमा उपयोग गर्न अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “यहाँको माटो उर्वर छ, जलस्रोतको सम्भावना छ र मेहनती किसानको बाहुल्यता छ । तर जलवायु परिवर्तन, परम्परागत कृषि प्रणाली, बजार पहुँचको अभाव र कृषिमा लगानीको कमीले गर्दा मधेशको कृषि क्षेत्रले आफ्नो पूर्ण क्षमता चल्न सकेको छैन ।”
मुख्यमन्त्री सिंहले फोरमले यी समस्याको समाधान र नयाँ अवसर पहिचान गर्न साझा मञ्चको भूमिका खेल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ हुने छलफल, कार्यपत्र प्रस्तुत र अनुभव आदानप्रदानले मधेशको कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने, खाद्य उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने र किसानको जीवनस्तर उकास्ने दिशामा योगदान पु¥याउनेछ । उहाँले प्रदेश सरकारका तर्फबाट कृषि क्षेत्रको विकासका लागि नीतिगत पहल भइरहेको उल्लेख गर्नुभयो ।
त्यसै गरी, कार्यक्रममा मधेश प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादवले कृषिमा आन्तरिक तथा बाह्य लगानी आकर्षण गर्न विविध कार्यक्रम ल्याइएको जानकारी दिनुभयो । उहाँका अनुसार कृषि विद्युतीकरण, दुई बाली उत्पादन, प्रत्येक जिल्लामा शीतभण्डार निर्माण, किसानका लागि वित्तीय तथा पूर्वाधार पहुँच वृद्धि गर्ने योजनामा सरकार अघि बढिरहेको छ ।
उहाँले भन्नुभयो, “आधुनिक प्रविधि प्रयोग अपरिहार्य भएकोले स्मार्ट कृषि यान्त्रीकरण, उन्नत बीउबिजन र जैविक मल प्रयोगलाई प्रोत्साहन गरिरहेका छौं । किसानले उत्पादन गरेको वस्तुले उचित मूल्य पाओस् भन्ने हाम्रो लक्ष्य हो । त्यसका लागि बजार व्यवस्थापन, शीतभण्डार निर्माण, प्रशोधन केन्द्र स्थापना र मूल्य श्रृंखला विकासमा काम गरिरहेका छौं ।”
मन्त्री यादवले खाद्य सुरक्षा र पोषणलाई प्रदेश सरकारको प्राथमिकतामा राखिएको जानकारी गराउँदै सबै नागरिकका लागि पर्याप्त तथा पौष्टिक आहारको सुनिश्चितताका लागि काम भइरहेको बताउनुभयो । कृषि पर्यटनको विकासका लागि मधेश प्रदेशमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै उहाँले यस क्षेत्रको प्रवद्र्धनबाट स्थानीय अर्थतन्त्र सबल र रोजगारी सिर्जना हुने अपेक्षा व्यक्त गर्नुभयो ।
दुई दिने कार्यक्रमका क्रममा कृषि विज्ञ, उद्यमी र सरोकारवालाहरुबाट प्राप्त हुने सुझाव र सल्लाह प्रदेश सरकारको आगामी नीति निर्माणमा उपयोग हुने विश्वास समेत मन्त्री यादवले व्यक्त गर्नुभयो । कार्यक्रममा मन्त्रालयका उच्च अधिकारी, कृषि विज्ञ, किसान प्रतिनिधि, निजी क्षेत्रका उद्यमी तथा सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । गोरखापत्रबाट

