ढल्केबर, धनुषा । भूमिअधिकार तथा श्रमिक संगठन, नेपाल जिल्ला कमिटी धनुषाको आयोजनामा शुक्रबार धनुषाको मिथिला नगरपालिकास्थित लालगढमा ’भूमि समस्या र सवाल समाधान’ विषयक अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा भूमिअधिकार तथा श्रमिक संगठन नेपालका केन्द्रीय अध्यक्ष इन्द्र तामाङ, विशिष्ट अतिथि नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य टंकप्रसाद बराल, भूमि समस्या समाधान आयोगका केन्द्रीय सदस्य गुञ्जबहादुर खड्का, मिथिला नगरपालिकाकी उपप्रमुख सुनिता सिंह बुढाथोकी, सामुदायिक वन उपभोक्ता महासंघ मधेश प्रदेश अध्यक्ष सोमप्रसाद शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका मिथिला नगर अध्यक्ष विजयकुमार साह लगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमको अध्यक्षता भूमिअधिकार तथा श्रमिक संगठन नेपाल, जिल्ला कमिटी धनुषाका अध्यक्ष विष्णुकुमार श्रेष्ठले गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष इन्द्र तामाङले भूमिहीन किसान, दलित, मजदुर तथा सीमान्तकृत वर्गका समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्ने बताए । उनले भूमि अधिकार आन्दोलनलाई नीतिगत तथा व्यवहारिक रूपमा अगाडि बढाउन आवश्यकता रहेको औंल्याए ।
नेकपा एमालेका केन्द्रीय सल्लाहकार सदस्य टंकप्रसाद बरालले भूमिहीन नागरिकलाई जग्गा वितरणका विषयमा सरकारले नीति तर्जुमा गरे पनि कार्यान्वयन कमजोर रहेको धारणा राखे । उनले सम्बन्धित आयोग र निकायबीच सहकार्य अभावले समस्या झन जटिल बन्दै गएको बताए ।
भूमि समस्या समाधान आयोगका केन्द्रीय सदस्य गुञ्जबहादुर खड्काले आयोगले अहिले सम्मको काम र योजना प्रस्तुत गर्दै स्थानीय तहसँग समन्वय गरी भूमिहीनलाई जग्गा वितरण गर्ने तयारी भइरहेको जानकारी गराए ।
मिथिला नगरपालिकाकी उपप्रमुख सुनिता सिंह बुढाथोकीले स्थानीय तह स्तरमै समस्या समाधानका प्रयास भइरहे पनि संघीय सरकारको स्पष्ट नीति र कार्यक्रम नआउँदा समस्या ज्यूँका त्यूँ रहेको बताइन् । कार्यक्रममा अन्य वक्ताहरुले भूमिहीन, सुकुम्बासी तथा श्रमिक समुदायको अधिकार सुनिश्चित गर्न सबै तह र निकाय मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

