ढल्केबर, धनुषा । धनुषाको धनुषाधाम नगरपालिका–९, मुर्गियास्थित फर्निचर उद्योगबाट अवैध सालको काठ बरामद गरिएको छ । डिभिजन वन कार्यालय धनुषाका कर्मचारीले फर्निचर उद्योगमा छापा मारेर अवैध काठ बरामद गरेका हुन् ।
डिभिजन वन कार्यालय धनुषाका प्रमुख विनोद सिंहले रामप्रसाद यादवले सञ्चालन गरेको फर्निचर उद्योगमा छापा हानेर २२.९६ क्यूफिट साल प्रजातिको अवैध काठ बरामद गरिएको बताउनुभयो । नजिकै रहेको राष्ट्रिय जङ्गलबाट तस्करी गरी फर्निचर उद्योगको पछाडि लुकाएर राखिएको सूचनाको आधारमा जिल्ला कमाण्डर वैजनाथ सिंहको नेतृत्वमा खटिएको वन कर्मचारीले स्थानीय प्रहरीको सहयोग छापा मारेको उहाँले जानकारी दिनुभयो ।
बरामद गरिएका सबै काठ सड डिभिजन वन कार्यालय पुष्पवलपुरमा ल्याएर राखिएको छ । बरामद गरिएका काठ र त्यसमा सङलग्न व्यक्तिका बारेमा थप अनुसन्धान भइरहेको डिभिजनल प्रमुख सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “अवैध काठ ओसारपसारमा संलग्न कुनै पनि व्यक्ति वा समूहलाई कानुनी कारबाही गरिनेछ । धनुषाका विभिन्न क्षेत्रमा वन अपराध नियन्त्रणका लागि सुरक्षा गस्तीलाई प्रभावकारी बनाइएको छ ।

