ढल्केबर, धनुषा ।
धनुषको मिथिला नगरपालिकामा ११औँ अन्तर्राष्ट्रिय योग दिवस–२०८२ तथा आधारभूत योग प्रशिक्षक तालिमको समापन कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ ।
मिथिला पतञ्जली आरोग्य योग साधना केन्द्र ढल्केवरको आयोजनामा तथा मिथिला नगरपालिकाको सहयोगमा योग दिवस सम्पन्न भएको हो ।
शनिबार आयोजित उक्त कार्यक्रममा सहभागीहरूले ‘योग गरौं, स्वस्थ रहौं’ जस्ता नारा लगाउँदै ढल्केबर चोकको परिक्रमा गरेका थिए । नगर परिक्रमा पछि कार्यक्रम महेन्द्र माध्यमिक विद्यालयको सभा कक्षमा सम्पन्न भएको थियो ।
कार्यक्रमका वक्ताहरूले योग स्वास्थ्य र दीर्घायुसँग सम्बन्धित रहेको बताउँदै दैनिक जीवनशैलीमा योगलाई आत्मसात् गर्नुपर्नेमा जोड दिएका थिए । मिथिला पतञ्जली आरोग्य योग साधना केन्द्रका प्रतिनिधिहरूले तालिम समापनका अवसरमा सहभागीलाई योग अभ्यासका आधारभूत सिद्धान्तहरू, आसन, प्राणायाम तथा ध्यान विधिबारे जानकारी दिएका थिए । उनीहरूले जीवनलाई सन्तुलित, निरोगी र स्फूर्तिपूर्ण बनाउन नियमित योग अभ्यास अपरिहार्य रहेको बताए ।
त्यस्तै, कार्यक्रममा सबै वडाका योग साधना केन्द्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । आयोजक संस्थाका प्रतिनिधिहरूले आगामी दिनमा समेत नियमित योग कक्षा सञ्चालन गर्ने तथा योग सचेतना अभिवृद्धि गर्ने योजना रहेको जानकारी दिएका छन् ।

|
