
महेन्द्रनगर, धनुषा ।
दुर्गा प्रसाईँको नेतृत्वमा रहेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ जनकपुर अञ्चल कमिटीले सोमबार धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ सखुवा महेन्द्रनगरमा ¥याली तथा नागरिक जागरण भेलाको आयोजना गरेको छ ।
महेन्द्रनगरस्थित नयाँ बजारबाट सुरु भएको ¥याली क्षीरेश्वरनाथ माध्यमिक विद्यालय अगाडि रहेको जैसीबाबा धर्मशालामा पुगेर भेलामा परिणत भएको थियो । ¥यालीका सहभागीहरुले “दुर्गा प्रसाईँलाई रिहा गर”, “झुठा मुद्दा खारेज गर”, “मिटरब्याज सुदखोरलाई कारबाही गर” लगायतका नारा लगाएका थिए ।
नागरिक जागरण भेलामा बोल्ने अधिकांश वक्ताहरुले पछिल्लो समय लघुवित्त संस्था नवसामन्तका रुपमा उदाएको भन्दै ती संस्था खारेज गर्नुपर्ने धारणा राखेका थिए । उनीहरुले गरिब तथा निमुखा जनतामाथि थोपारिएको अन्यायपूर्ण ऋण मिनाहा गर्नुपर्ने, सबै किसिमका आर्थिक र वित्तीय शोषण र उत्पीडन अन्त्य गर्नुपर्ने माग गरेका थिए । साथै, गरिबको सम्पत्ति लिलामी गर्ने कार्य तत्काल रोक्नुपर्ने र यस्ता कार्यमा संलग्नहरुको प्रतिकार गर्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि तथा अभियानका जनकपुर संयोजक विजय थापाले वित्तीय संस्थाका कर्मचारी घरमा आएर दुःख दिन थालेमा “खुट्टा भाँचिदिनुस्, ठोक्नुस्” भन्ने भडकाउ अभिव्यक्ति दिएका थिए ।
उक्त कार्यक्रम अभियानका जनकपुर प्रवक्ता हरिदेव महतोको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा अञ्चल महिला संयोजक रिंकु मण्डल, धनुषा जिल्ला संयोजक विशेश्वर सिंह, महोत्तरी जिल्ला संयोजक विन्देश्वर साह, सिन्धुली जिल्ला संयोजक खोजराज बुढाथोकी, सर्लाही जिल्ला संयोजक हरि मैनाली लगायतका करिब तीन जनाको उपस्थिति रहेको थियो ।