सबैला, धनुषा ।
धनुषाको सबैला नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि ६४ करोड ४३ लाख ४८ हजार ७७२ को अनुमानित बजेट पारित गर्दै १३ औं नगरसभा सम्पन्न गरेको छ । नगर प्रमुख कारी राम यादवको अध्यक्षतामा भएको नगरसभामा बजेट तथा नीति कार्यक्रम सार्वजनिक गरिएको हो ।
संघीय सरकारबाट राजस्व बाँडफाँड, समानिकरण, सशर्त, विशेष तथा समपुरक अनुदानमार्फत ४९ करोड ७९ लाख ७ हजार ८१२ प्राप्त हुने अनुमान गरेको छ । प्रदेश सरकारबाट १ करोड ६४ लाख ४० हजार ९६०÷आन्तरिक श्रोत मौज्दातसहितस ११ करोड नगर आम्दानी २ करोड जुटाउने लक्ष्य लिएको छ ।
नगर प्रमुख यादवले अघिल्लो वर्ष सम्पन्न हुन नसकेका योजनाहरूलाई आगामी वर्षमा प्राथमिकताका साथ सम्पन्न गरिने प्रतिबद्धता जनाउँदै भने “नीति तथा कार्यक्रम केवल कागजमा सीमित नहोस् भन्ने हाम्रो प्रयास हुनेछ । कार्यान्वयनमै प्रभावकारी बनाउने व्यवस्था मिलाइनेछ ।”
नगर प्रमुख यादवले सीमित स्रोत र साधनको अधिकतम उपयोग गर्दै नगरलाई समृद्ध र सुखी बनाउने अभियानमा नगरपालिका अघिल्ला वर्षहरूमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सफल भएको बताए। तथापि जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै उनले आगामी वर्षका लागि बहुआयामिक कार्यक्रमहरू अघि सारेको जानकारी दिए।
सबैला नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमले सीमित स्रोत र साधनको अधिकतम उपयोग गर्दै नगरलाई समृद्ध र सुखी बनाउने लक्ष्य लिएको छ। अघिल्लो वर्षहरूमा विभिन्न महत्वपूर्ण उपलब्धिहरू हासिल भए पनि जनताको जीवनस्तरमा अझै गुणात्मक सुधार आवश्यक भएको नगर प्रमुख कारीराम यादवले बताएका छन्।
नीति तथा कार्यक्रममा प्रशासनिक सेवा, राजस्व प्रणाली, स्थानीय उद्यम प्रवद्र्धन र डिजिटल सेवा विस्तारलाई प्राथमिकता दिइएको छ। वडास्तरमै सेवा पहुँचलाई प्रभावकारी बनाउने गरी आवश्यक जनशक्ति व्यवस्थापन, कर्मचारीको क्षमता विकास तालिम र करार सेवाको निरन्तरताका प्रबन्ध गरिएको छ। सेवाको गुणस्तर सुधार गर्न ‘एकद्वार प्रणाली’ र ‘टोलफिक्स’ अवधारणा लागू गरिने उल्लेख छ ।
नगरसभामा उपप्रमुख रहिमा खातुन, प्रमुख प्रशासकीय अधिकृत सविर कुमार महतो, वडा अध्यक्षहरू, जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीहरूको उपस्थिति थियो । सभामा विभिन्न राजनीतिक दलका नेताहरू—जसमा कांग्रेसका मेयर उम्मेदवार जगत सुन्दर साह, एमालेका राजकिशोर यादव, र जनमतका पि.बी साह लगायतको उपस्थिति पनि उल्लेखनीय रहेको थियो ।

