धनुषासँग सीमा जोडिएको सिरहाको कर्जन्हा नगरपालिका–१, स्थित बन्दिपुर–बाबाताल सडकखण्डमा रहेको हाइटेन्सन लाइनको टावरमा चढेका एक युवकलको प्रहरीले सकुशल उद्धार गरेको छ ।
सिरहा प्रहरीका अनुसार बुधबार बिहान करिब ७ बजे स्थानीयवासीले युवकलाई टावरमा चढेको देखेपछि तत्काल प्रहरीलाई जानकारी गराएका थिए । सूचना प्राप्त लगतै घटनास्थल पुगेका प्रहरीले नेपाल विद्युत प्राधिकरण ढल्केबर ग्रिड शाखाका प्राविधिक कर्मचारीको सहयोगमा १० बजे युवकको सकुशल उद्धार गरिएको हो ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक सन्तोष बुढाथोकीका अनुसार ती युवक हाइटेन्सन लाइनको टावरको माथिल्लो भागसम्म चढेका थिए । जसले गर्दा
उद्धार कार्य जोखिमपूर्ण बनेको थियो । करिब तीन घण्टाको प्रयासपछि उनलाई सकुशल झार्न सफल भएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “उद्धार गरिएका युवकको नामथर ठेगाना खुलेको छैन । हेर्दा अन्दाजी २२ वर्षिय भारतीय नागरिक जस्तो देखिन्छ । मानसिक सन्तुलन समेत बिग्रिएको अनुमान गरिएको छ ।” हाल ती युवकलाई मिर्चैयास्थित सरकारी अस्पतालमा प्रारम्भिक स्वास्थ्य परीक्षण तथा उपचारका लागि भर्ना गरिएको प्रहरी निरीक्षक बुढाथोकीले जानकारी दिनुभयो ।
उहाँका अनुसार युवक बोल्न सक्ने अवस्थामा छैनन् तर ‘सुभाष यादव’ भनेर कागजमा लेखेर देखाएका छन् । उक्त नाम उहाँको हो कि अरु कसैको नाम हो भन्ने विषयमा प्रष्ट भइसकेको छैन । युवकको मानसिक अवस्था र पहिचान पहिचान खुलाउने प्रयास भइरहेको र यसबारे थप अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक बुढाथोकीले जानकारी बताउनुभयो ।

|
