ढल्केवर— युवामा बढ्दो लागूऔषध दुव्र्यसनको समस्यालाई लक्षित गर्दै धनुषाको ढल्केवरस्थित रहेको मिथिला नगर पत्रकार संजालले लागुऔषध विरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरेको छ । सञ्जालले लागुऔषध विरुद्धको जनचेतना अभिवृद्धि गर्न विशेष अभियानको सुरुवात गरेको हो ।
त्यसैअभियान अन्तर्गत पहिलो चरणमा संजालले मिथिला नगरपालिका वडा नं ७ को दुईस्थानमा लागुऔषध विरुद्ध जनचेतनामूलक कार्यक्रम गरेको छ । मिथिला नगरपालिकाको ७ नम्बर वडा कार्यालयको सहयोग तथा समन्वयमा आईतबार र सोमवार गरी दुईदिन लागुऔषधसम्बन्धि जनचेतनामूलक कार्यक्रम गरेको मिथिला नगर पत्रकार संजालका सचिव विजय कुमार साहले जानकारी दिए ।
उनका अनुसार विशेषगरी युवापुस्तामा बढ्दो लागुऔषध दुव्र्यसनको समस्या गम्भीर रूपमा देखिएपछि सञ्जालले विद्यालय र सार्वजनिक स्थानहरूमा सचेतनामूलक कार्यक्रम सुरु गरेको हो । ‘यो सुरुवात हो । यसलाई अभियानको रुपमा हामीले सबै वडामा पु¥याउँछौं,’ सचिव साहले भने ‘पत्रकारले समाज रुपान्तरणमा भूमिका खेल्नुपर्छ । पछिल्लो समय लागूऔषधले विक्राल अवस्था ल्याएपछि हामी स्वयं अगाडि सरेका हौं ।’
संजालले आईतबार जनता राष्ट्रिय आधारभूत विद्यालय साबेडाँडा र सोमवार राष्ट्रिय आधारभूत विद्यालय केमलीपुरमा कार्यक्रम गरेको हो । उक्त कार्यक्रममा यवा, विद्यार्थी, अभिभावक, स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, शिक्षकलगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मिथिला नगरपालिका वडा नं ७ का वडाध्यक्ष रामबहादुर स्याङ्दनले यस्ता सचेतनामूलक कार्यक्रमले लागूऔषधप्रति समाजमा गम्भीरता बढाउने र रोकथाममा सबै पक्षको समन्वय सुनिश्चित गर्ने विश्वास व्यक्त गरे । लागूऔषधविरुद्ध आफ्नो कलममार्फत सचेतना जगाउँदै आएका पत्रकारहरु टोलटोलमै पुगेर सचेतना जगाउने कार्यक्रम संचालन गरेकोप्रति वडाध्यक्ष स्याङ्दनले प्रशंसा गरे ।
कार्यक्रमका सहभागीहरुलाई जनस्वास्थ्य अधिकृत समेत रहेका मिथिला नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अशोक कुमार भण्डारी, इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक जटाशंकर यादव, मनोपरामर्शकर्ता विना कडारीले प्रशिक्षण दिएका थिए ।
चिकित्सा क्षेत्रमा लामो अनुभव भएका अधिकृत भण्डारीले लागूऔषधको स्वास्थ्यमा पार्ने असरहरूबारे प्रस्ट जानकारी गराएका थिए । उनले लागूऔषध सेवनले मस्तिष्क, मुटु, फोक्सो र यौन स्वास्थ्यमा पर्ने दीर्घकालीन असरहरु, उपचार विधिहरु र परिवारको भूमिकाबारे महत्वपूर्ण प्रस्तुति दिएको संजालका सदस्य प्रेमबहादुर कार्कीले बताए ।
उनका अनुसार इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक यादवले लागूऔषधसम्बन्धी कानुनी प्रावधानहरूबारे जानकारी दिएका थिए । प्रहरी निरीक्षक यादवले लागूऔषधको परिभाषा, प्रकारका साथै लागूऔषध नियन्त्रण ऐन, २०३३ अनुसारका मुख्य प्रावधानहरू, सजायहरू, प्रहरी र नागरिकको भूमिका र विशेषगरी नाबालकमाथि लागू हुने कानुनी दृष्टिकोणबारे उदाहरणसहित प्रस्ट पारेको संजालका सदस्य कार्कीले बताए ।
कार्यक्रममा मनोपरामर्शकर्ता विना कडारीले लागूऔषधको कारण हुने डिप्रेशन, एन्जाइटी, व्यवहारिक परिवर्तन, पारिवारिक सम्बन्धमा पर्ने प्रभाव र किशोर अवस्थाको संवेदनशीलताबारे सचेत गराएकी थिइन् ।
कार्यक्रममा सहभागीहरुले लागूऔषधविरुद्ध व्यक्तिगत र सामाजिक प्रतिवद्धता जनाएका थिए । मिथिला नगरपालिका वडा नं ७ का वडासदस्य गंगाबहादुर बानियाले यस्ता कार्यक्रमले युवाहरुमा चेतना अभिवृद्धि गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।
लागूऔषधसम्बन्धि जनचेतनामूलक कार्यक्रमलाई विस्तार गर्दै मिथिला नगरपालिकाका विभिन्न वडामा सञ्चालन गरिने योजना रहेको संजालकी उपाध्यक्ष सरस्वती लामाले बताइन् ।

|
