विजयकुमार साह
ढल्केबर, धनुषा ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न वृक्षरोपण एक मात्र विकल्प भएको बताउनुभएको छ । शनिबार राष्ट्रिय वृक्षरोपण दिवस २०८२ को अवसरमा धनुषाको धनुषाधाम नगरपालिका–९, मुर्गियास्थित बुद्ध कबुलिय वन क्षेत्रभित्र खाली रहेको १० हेक्टर जमिनमा वृक्षरोपण कार्यको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
मुख्यमन्त्री सिंहले जलवायु परिवर्तनले मधेश प्रदेशमा विशेष गरी खेतीयोग्य जमिनमा नकारात्मक असर, भूमिगत जलको ह्रास, तापक्रम वृद्धिलगायतका समस्याहरू निम्त्याएको उल्लेख गर्नुहँदै वृक्षरोपण गरेर हरियाली वृद्धि गर्न प्रत्येक नागरिकको सक्रिय सहभागिता र जिम्मेवारी आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “वृक्षरोपण अब उत्सव नभएर दायित्व हो । जलवायु परिवर्तनको असरबाट देशको आर्थिक, सामाजिक र समग्र क्षेत्रमा प्रभाव परेको छ । यसको समाधानका लागि वृक्षरोपण र त्यसको संरक्षण नै अहिलेको मुल उपाय हो ।” वृक्षरोपणले भूमिगत जलस्रोत पुनःभरण, जमिनको कटान नियन्त्रण, तापक्रम नियन्त्रण र जैविक विविधताको संरक्षणमा योगदान पुग्ने उहाँको भनाइ थियो । अब बिरुवा रोपेर मात्र होइन जोगाउने र हुर्काउने संस्कारको विकास गर्न पनि जरुरी रहेको उहाँले जानकारी दिनुभयो ।
मधेश प्रदेशका वन तथा वातावरणमन्त्री सञ्जयकुमार यादवले जलवायु परिवर्तन विश्वव्यापी चुनौतीको रूपमा देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “जलवायु परिवर्तनको असरले पृथ्वीको पर्यावरण चक्रलाई नै गम्भीर क्षति पु¥याइरहेको छ । नेपालले पनि यसको मूल्य सामाजिक, आर्थिक र पर्यावरणीय क्षेत्रमा चुकाइरहेको छ ।”
उहाँले मधेशमा दिनप्रतिदिन वन विनाश भइरहेकाले बाढी र भू–क्षयको समस्या तीव्र बनेको जनाउँदै रोपिएका बिरुवाको संरक्षणसहितको वृक्षरोपण अभियान ८ वटै जिल्लामा सञ्चालन भइरहेको जानकारी दिनुभयो । मन्त्री यादवले जैविक विविधता संरक्षण, वातावरणीय सन्तुलन कायम गर्ने दीर्घकालीन उद्देश्यसहित वृक्षरोपण अभियान सञ्चालन गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, वृक्षरोपणले भूमिगत जलस्रोत पुनःभरण, जमिनको कटान नियन्त्रण, तापक्रम नियन्त्रण र जैविक विविधताको संरक्षणमा योगदान पु¥याउने छ । यसका लागि सरकार मात्र होइन प्रत्येक नागरिकको सक्रिय सहभागिता र जिम्मेवारी आवश्यक रहेको स्पष्ट पार्नुभयो । उहाँले जनताको भूमिकाबिना वृक्षरोपण अभियान सफल नहुने उल्लेख गर्दै स्थानिय समुदाय, विद्यालय, युवा क्लब, नागरिक समाज र सञ्चार माध्यमको सहयोग अपरिहार्य भएको बताउनुभयो ।
बुद्ध कबुलियत वन क्षेत्रभित्र खाली रहेको १० हेक्टर जमिनमा बाँस, सिसौ, आमला, सिमल, टिक, आँपलगायत फलफूल तथा काठजन्य रुखका बिरुवा रोपिने डिभिजन वन कार्यालय धनुषा प्रमुख विनोदन सिंहले बताउनुभयो । गोरखापत्रबाट

