ढल्केबर, धनुषा ।धनुषाको मिथिला नगरपालिका–३, हरिहरपुरकी अनिता लामा ‘क्यापिटल क्विन नेपाल २०२५’ सौन्दर्य प्रतियोगितामा फस्ट रनरअप बन्न सफल भएकी छिन् । ललितपुरस्थित ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न प्रतियोगितामा अनिताले आफ्ना प्रस्तुति, व्यक्तित्व र आत्मविश्वासमार्फत निर्णायकहरू तथा दर्शकको मन जित्दै फस्ट रनरअप बन्न सफल भएकी हुन् ।
हिमालय मुभिजद्वारा आयोजित नवौं संस्करणको प्रतियोगितामा देशका विभिन्न भागका दर्जन बढी प्रतियोगीहरूबीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगीहरूलाई करिब तीन साता प्रशिक्षण दिइएको थियो । जसमा व्यक्तित्व विकास, क्याटवाक, स्टेज प्रस्तुति, बोलीचाली, फोटोसुट, भिडियोसुटलगायत विविध विधामा तालिम दिइएको थियो ।
प्रतियोगिताको आकर्षण बनेकी अनिता लामाले आफ्नो मेहेनत, अनुशासन र आत्मबलको कारणले फस्ट रनरअपको उपाधि हात पार्न सफल भएको बताइएको छ । प्रतियोगितामा करुण भुजेल श्रेष्ठले विजेताको ताज चुमेकी हुन् भने सीता राई सेकेण्ड रनरअप घोषित भएकी छन् ।
स्थानीय तहबाट राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी भएर सफलता हासिल गरेकी अनिताको यो उपलब्धिलाई मिथिला नगरबासीले गौरवको रूपमा लिएका छन् । सौन्दर्य प्रतियोगितामार्फत सामाजिक सन्देश दिन सकिने विश्वास व्यक्त गर्दै उनले भविष्यमा समाजसेवा र महिला सशक्तीकरणमा योगदान दिने लक्ष्य राखेको बताएकी छन् ।

