ढल्केबर, धनुषा ।
धनुषाको कमला नगरपालिकामा आगलागीबाट प्रभावित २३ घरपरिवारलाई निःशुल्क काठ वितरण गरिएको छ । शुक्रबार डिभिजन वन कार्यालय धनुषाले निःशुल्क काठ वितरण गरेको हो ।
डिभिजन वन कार्यालयका डिभिजनल प्रमुख बिनोद सिंहले आगलागी जस्ता विपद्को मारमा परेका परिवारलाई घर पुनःनिर्माणमा सहयोग पु¥याउने उद्देश्यले १६ देखि १८ क्यूफिटसम्म साल प्रजातिको काठ निःशुल्क उपलब्ध गराइएको बताउनुभयो । उहाँका अनुसार सङ्घीयता पश्चात वन क्षेत्रबाट प्रत्यक्ष रूपमा दैवी प्रकोप पीडित नागरिकलाई राहत स्वरूप काठ वितरण गरिएको यो पहिलोपटक हो ।
काठ वितरण कार्यक्रममा मधेश प्रदेशका वन तथा वातावरण मन्त्री सञ्जयकुमार यादव, प्रदेश वन सचिव उद्धवबहादुर घिमिरे, निर्देशनालयका निर्देशक जगन्नाथ जैसवाललगायत कमला नगरपालिकाका नगरप्रमुख, स्थानीय जनप्रतिनिधि तथा वनकर्मीहरूको उपस्थिति रहेको थियो ।
त्यस अवसरमा मन्त्री यादवले भने वनजङ्गमाथि सारा नेपालीको सामान अधिकार रहेको बताउँदै राहतको रुपमा काठ उपलब्ध गराएपछि घर निर्माणमा सहयोग पुग्ने बताउनुभयो । सचिव घिमिरेले वन क्षेत्रको स्रोतलाई मानव कल्याणको काम प्रयोग गर्न ऐन, नीति र सोच आवश्यक भएको बताउँदै यस प्रकारको राहत वितरणलाई निरन्तरता दिइने बताउनुभयो ।

