ढल्केबर, धनुषा
धनुषाको ढल्केबरमा २१२ औं भानु जयन्तीको अवसरमा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । मिथिला साहित्य प्रतिष्ठान धनुषाको आयोजनामा तथा मिथिला नगरपालिकाको सहयोगमा शनिबार ढल्केबरमा रचना वाचन कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष बीपिराज दाहालले गर्नुभयो भने प्रमुख अतिथि मिथिला नगरपालिका नगर प्रमुख महेन्द्र महतो रहनुभएको थियो ।
साहित्यिक माहोलमा सम्पन्न उक्त कार्यक्रममा भारतको सीतामढीबाट आएका जनवादी कवि तथा गजलकार मोहम्मद कमुरुद्दिन नादाफको विशेष उपस्थितिले कार्यक्रमलाई थप प्रभावशाली बनाएको थियो। साथै धनुषा र महोत्तरी जिल्लाका दुई दर्जनभन्दा बढी स्रष्टाहरूले कविता, गजल र मुक्तक वाचन गरी आफ्नो सिर्जनात्मक प्रतिभा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै नगर प्रमुख महेन्द्र महतोले साहित्य समाजको दर्पण भएको उल्लेख गर्दै साहित्यिक कार्यक्रमहरूको नियमित आयोजना नगरस्तरमै हुने वातावरण बनाउन नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “हामी भाषा, साहित्य र संस्कृति बिना समाजको समृद्धि सम्भव छैन भन्ने विश्वास राख्छौं। यस्ता कार्यक्रमले स्रष्टालाई सम्मान र प्रेरणा दिन्छ भने समाजलाई चेतना दिन्छ।”
कार्यक्रममा साहित्यप्रेमी, स्थानीयबासी र वडाध्यक्ष लगायतका अतिथिको उल्लेख्य उपस्थिति थियो ।

