ढल्केवर, धनुषा ।
धनुषाको मिथिला नगरपालिका–८, जमुनिवासकी ३४ वर्षीया बिमला कुमारी मोक्तानको आत्महत्या दुरुत्साहन गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका–६, बस्ने ५५ वर्षीय राजकिशोर यादवलाई प्रहरीले पक्राउ गरेको छ । गत साउन १ गते बिहान करिब ४ः४५ बजे जमुनिवासस्थित जनता राष्ट्रिय आधारभूत विद्यालयमा कार्यरत शिक्षिका विमला आफूले पढाउने बालविकास कक्षा कोठामा झुन्डिएर अवस्थामा मृत फेला परेकी थिइन् ।
घटनास्थलमा गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा उनको ज ११ प ७४९२ नम्बरको स्कुटीमा रहेको पर्सबाट सुसाइड नोट फेला परेको थियो । सुसाइड नोट र थप अनुसन्धानबाट यादवले अझै ४५ लाख रुपियाँ बाँकी रहेको भन्दै बारम्बार मानसिक दबाब आफूलाई ब्ल्याकमेल र धम्की दिएको कारण आत्महत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार यादवको घरबाट विभिन्न व्यक्तिको नामको सक्कल र प्रतिलिपि कागजात २३ थान, जग्गा धनी प्रमाण पत्र, बैंक भौचर र विभिन्न व्यक्तिको नामको चेकसमेत बरामद भएको छ । हाल राजकिशोर यादवमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
स्थानीयका अनुसार बिमला लामो समयदेखि मिटरब्याज (सूदखोरी) यादवको चपेटामा परेकी थिइन ्। मृतक विमलाले यादवसँग दुई पटक ऋण लिएकी थिइन् । पहिलो पटक १ लाख ६० हजार रुपैयाँ र दोस्रो पटक १ लाख ५० हजार गरी ३ लाख १० हजार ऋण लिएकी उनले उक्त ऋणको व्याज र मूलधनका रुपमा करिब ४५ लाख रुपैयाँ तिरिसकेकी थिइन् ।
१५ लाख रुपैयाँ त उनले आईएमई मार्फत पठाएको प्रमाणसहितका भौचर फेला परेका छन् । बाँकी ३० लाख भने नगदमा किस्ताबन्दीमा बुझाएको छ । तर त्यसपछि पनि राजकिशोरले अझै ५० लाख रुपैयाँ बाँकी रहेको भन्दै उनलाई बारम्बार मानसिक दबाब दिँदै ब्ल्याकमेलिङ्ग गर्दै आएको स्थानीयको भनाइ छ ।

