ढल्केवर, धनुषा ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेको समर्थनमा धनुषाको ढल्केवरमा हस्ताक्षर अभियान सुरु गरिएको छ । बुधबारदेखि ढल्केवरस्थित ट्राफिक प्रहरी कार्यालयको पश्चिमपट्टि स्टल खडा गरेर हस्ताक्षर पार्टीका धनुषा जिल्ला सचिव रमेश पहाडीको उपस्थितिमा कार्यक्रम सुरु गरिएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका मिथिला नगर सभापतिले विजय साहले हस्ताक्षर अभियान दशैं पर्वसम्म चल्ने बताए । “रवि लामिछानेमाथि गरिएको राजनीतिक बद्नियतपूर्ण दबाब र आरोपविरुद्ध जनमत निर्माण गर्न हामीले हस्ताक्षर संकलन अभियान थालेका हौं,” नगर सभापति साहले भने, “स्थानीयबासी हस्ताक्षर गर्दै समर्थन जनाइरहेका छन्।”
उनका अनुसार स्टलमा राखिएको ब्यानर र पोस्टरमार्फत लामिछानेको पक्षमा जनमत बढाउने प्रयास भइरहेको छ । अभियानमा पार्टीका स्थानीय कार्यकर्तासहित विभिन्न युवाहरू पनि सक्रिय छन् । उनीहरूले हस्ताक्षरदातालाई लामिछानेको योगदान र हालको राजनीतिक परिस्थिति बारे जानकारी दिइरहेका छन् ।
ढल्केवरमा सुरु गरिएको यो अभियानले मधेसमा पनि लामिछानेको समर्थनमा जनभावना रहेको नगर सभापति साहको भनाइ छ । यसअघि पनि देशका विभिन्न भागमा रवि लामिछानेको पक्षमा यस्तै हस्ताक्षर अभियान सञ्चालन भइरहेका छन् ।

