ढल्केबर
मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले प्राकृतिक स्रोतको दोहन रोक्न र वातावरणीय सन्तुलन कायम राख्न पर्यावरणमैत्री संरचना निर्माणमा जोड दिनुभएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ स्थित सन्तपुरमा अव्यवस्थित घरपरिवारका लागि निर्माण भइरहेको पर्यावरणमैत्री सुरक्षित आवासको अवलोकन गर्दै सभामुख मण्डलले कङ्क्रिटको अत्यधिक प्रयोगले वातावरणीय समस्या बढाएको भन्दै बाँस जस्ता प्राकृतिक सामग्रीबाट बनेका संरचनालाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “प्राकृतिक स्रोतको अत्यधिक दोहनले वातावरण असन्तुलित बन्दै गएको छ । सतही पानी घटिरहेको छ, जमिन सुक्दै गएको छ । यस्तो स्थितिमा वातावरणमैत्री संरचना निर्माण गर्नुपर्छ । मानिसमा कङ्क्रिटका घर लामो समय टिक्छन् भन्ने गलत बुझाइ रहेको बताउँदै उहाँले प्रशोधित बाँसबाट बनेका घरको आयु पनि ४० वर्षभन्दा बढी हुने र यसमा भूकम्पको जोखिम पनि कम हुने जानकारी दिनुभयो ।
उहाँले थप भन्नुभयो, “यो घरबाट म स्वयम् प्रभावित भएँ । यस्ता संरचना निर्माणमा जोड दिनुपर्छ । म आफ्नो तर्फबाट यस्ता परियोजनामा निरन्तर सहयोग र प्रोत्साहन गरिरहन्छु ।” बाँसजस्ता प्राकृतिक स्रोतको सदुपयोग गरेर सुरक्षित आवास निर्माण गर्दा कंङ्क्रिट र काठको प्रयोगमा कमी आउने सभामुख मण्डलले बताउनुभयो ।

यस्तै, उहाँसँगै पर्यावरणमैत्री आवासहरुको अवलोकन गर्नु भएका प्रदेश सभा सदस्य रामअशिष यादवले अहिले वातावरणमैत्री संरचना निर्माणको आवश्यकता भएको बताउनुभयो । उहाँले कङ्क्रिटको संरचना निर्माणले वातावरणीय जटिलता बढाएको बताउँदै वातावरणमैत्री संरचना बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “आज वातावरणप्रतिको संवेदनशीलता बिना ठूला कङ्क्रिटका संरचनाले भूमिगत पानीको सतह घटेको छ । तापक्रम बढेको छ । वातावरण असन्तुलन बनेको छ ।” प्राकृतिक स्रोतको अत्यधिक दोहन, जथाभावी कङ्क्रिट संरचना र हरियालीको विनाशले वातावरणमा गम्भीर असर परेको छ । अहिले देखिएको जलसङ्कट यसैको परिणाम हो । त्यसैले बाँसजस्ता वैकल्पिक स्रोतको उपयोगिता बढाउँदै लैजानुपर्ने सभा सदस्य यादवको भनाइ छ ।
सन्तपुरमा २२ अव्यवस्थित घरपरिवारका लागि पर्यावरणमैत्री बाँस घर निर्माण भइरहेको छ । गणेशमान चारनाथ नगरपालिका र ह्याबिट्याट फर ह्युम्यानिटी नेपालको सहयोगमा सामुदायिक सुधार केन्द्र धनुषाले सो घर निर्माण गरिरहेको छ ।
सामुदायिक सुधार केन्द्रका कार्यकारी निर्देशक सञ्जयकुमार साहले यी आवासहरू पूर्ण रूपमा प्राकृतिक मैत्री भएको बताउनुभयो । उहाँका अनुसार घर निर्माणमा धुरी, खम्बा, बेरा, छाना सबैमा प्रशोधित बाँसको प्रयोग गरिएको छ । प्रशोधित बाँसले बनेको घरको आयु ४० वर्षसम्म हुन्छ । घर निर्माणमा ८० प्रतिशत स्थानीय स्रोतको प्रयोग गरिएको उहाँले बताउनुभयो ।

