ढल्केवर, धनुषा ।
धनुषाको मिथिला नगरपालिकाका मेयर महेन्द्र महतो र उपमेयर सुनिता सिंह बुढाथोकीलाई आर्थिक वर्ष २०८२÷८३ को नीति, कार्यक्रम तथा बजेट पारित गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले ज्ञापनपत्र बुझाएको छ । सोमबार पार्टीका नगर सभापति विजयकुमार साहको नेतृत्वमा प्रतिनिधिमण्डलले नगर कार्यपालिकाको कार्यालय ढल्केवरमा पुगेर उक्त ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउने अवसरमा पार्टीका धनुषा जिल्ला सचिव रमेश पहाडीसहित विभिन्न नेता तथा कार्यकर्ताहरूको उपस्थिति थियो।
नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को भावना अनुसार प्रत्येक स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट असार १० गतेभित्र नगरसभा वा गाउँसभामा पेश गर्नुपर्ने तथा सो पेश भएको मितिले १५ दिनभित्र बहुमतले पारित गर्नुपर्ने स्पष्ट कानुनी व्यवस्था रहेको छ । तर साउन महिनाको दोस्रो साता बितिसक्दासमेत नगरपालिकाले बजेट प्रक्रिया अघि नबढाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल नगरसभा बोलाएर बजेट पास गर्न आग्रह गरेको छ ।
ज्ञापनपत्रमार्फत राष्ट्रिय स्वतन्त्र पार्टीले बजेट समयमै नआउँदा स्थानीय विकास, पूर्वाधार निर्माण, स्वास्थ्य र शिक्षा लगायतका क्षेत्रमा गम्भीर असर परेको जनाउँदै यस्ता लापरवाही र संवैधानिक दायित्वको उल्लंघन नगर्न चेतावनी दिएको छ ।
ज्ञापनपत्रमा चेतावनी दिँदै भनिएको छ, “यदि चाँडो भन्दा चाँडो नगरसभा आह्वान गरी बजेट प्रक्रिया अगाडि नबढाए, बाध्य भएर चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्नेछौं । जसको सम्पूर्ण जिम्मेवारी नगर कार्यपालिकाले लिनुपर्नेछ ।” जनताको अधिकार कुण्ठित पार्ने, विधिसम्मत शासन प्रणालीलाई चुनौती दिने, विकास निर्माणलाई अवरुद्ध पार्ने, असारे विकासमा रमाउने” कार्यप्रति गम्भीर आपत्ति जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आफू सुशासन, पारदर्शिता र विधिको शासनमा प्रतिबद्ध रहेको उल्लेख गर्दै मिथिला नगरपालिकाको हरेक सकारात्मक काममा साथ दिने तर खराब नियतबाट भएका कामको भण्डाफोर गर्ने पनि स्पष्ट पारेको छ ।

