ढल्केबर, धनुषा ।
पर्यावरण तथा वन्यजन्तु संरक्षणका क्षेत्रमा कार्यरत नेपालका सचिनकुमार सिंहलाई भारतको प्रतिष्ठित डा. कलाम युथ रत्न अवार्ड २०२५ प्रदान गरिएको छ । भारतको राजस्थान अन्तर्राष्ट्रिय केन्द्र जयपुरमा आयोजित ‘कलाम युथ लिडरशीप कन्फरेन्स–२०२५’ मा उहाँलाई सो सम्मान प्रदान गरिएको हो ।
धनुषा जिल्लाको मिथिला नगरपालिका–८, कुसुमबिछौनाका सिंह वातावरण विज्ञानका विद्यार्थी हुनुहुन्छ । उहाँले आफ्नो अध्ययन, ज्ञान र रुचिलाई व्यावहारिक जीवनमा उतार्दै मिथिला वाइल्डलाइफ ट्रस्टको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । ट्रस्टको नेतृत्व गर्दै उहाँले तराई क्षेत्रका सामुदायिक वन तथा जैविक विविधताको संरक्षणमा विशेष योगदान पु¥याइरहनुभएको छ । सन् २०१८ देखि निरन्तर रुपमा पर्यावरण, वन्यजन्तु र जलवायु परिवर्तन सम्बन्धी चेतना अभिवृद्धि, संरक्षण र नीतिगत पहलमा सक्रिय योगदान दिँदै आउनु भएको छ ।
उहाँले आफ्नो टोलीसहित उनले विभिन्न गाउँहरूमा पुगेर स्थानीयलाई वन, पानी, माटो र वन्यजन्तु संरक्षणको महत्त्वबारे प्रशिक्षण दिने, सचेतना कार्यक्रम सञ्चालन गर्ने तथा संरक्षण अभियानमा प्रत्यक्ष सहभागी गराउने काम गर्दै आउनुभएको छ ।

