महेन्द्रनगर, धनुषा ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा निर्माणाधीन सभा हल र विद्यालय भवनको भौतिक प्रगति निरीक्षण गरिएको छ । नेकपा एमालेका सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुविर महासेठ, नगर प्रमुख सुखदेव यादव र नेकपा एमाले नगर अध्यक्ष अनिल चौधरीसहितको टोलीले अनुगमनको हो ।
महासेठले नगरको सखुवा बजारस्थित सभा हल तथा वडा नं. ७ दुर्गाटोलमा निर्माणाधीन दुर्गा तुलसी राप्राविको भवनको अवलोकन गर्दै निर्माणको गति, गुणस्तर र पारदर्शिताबारे जानकारी लिनुभएको थियो । उहाँले निर्माण कम्पनीलाई जनताको हितलाई मध्यनजर गर्दै समयमै गुणस्तरीय निर्माण सम्पन्न गर्न निर्देशन दिनुभयो ।
त्यस्तै, महासेठले सखुवा बजारदेखि दुधमती चौकसम्म निर्माण भइरहेको कालोपत्रे सडकको पनि स्थलगत अनुगमन गर्नुभयो । उहाँले उक्त सडक योजनालाई केवल यातायात सहजताका लागि मात्र नभई स्थानीय आर्थिक विकासको मेरुदण्डका रूपमा समेत चित्रित गर्दै गुणस्तरीय निर्माणमा कुनै लापरवाही नहुने चेतावनी दिनुभयो । “यो सडकले बजार, विद्यालय, अस्पताल लगायतका सेवा केन्द्रमा पहुँच बढाउनेछ,” उहाँले भन्नुभयो, “निर्माण कार्य मापदण्डअनुसार समयमा सम्पन्न हुनुपर्छ भन्नेमा हामी दृढ छौं।”
नगर अध्यक्ष अनिल चौधरीले सखुवा बजारको सभा हल र दुर्गाटोलको विद्यालय भवन नगरको दीर्घकालीन आवश्यकता भएको उल्लेख गर्दै भने, “यी संरचनाले शैक्षिक सुधारसँगै सामाजिक तथा राजनीतिक गतिविधिहरूलाई प्रभावकारी बनाउनेछन् । हामी पारदर्शिता र गुणस्तरमा कुनै सम्झौता नगरी निरन्तर निगरानीमा रहनेछौं ।”
अनुगमनमा स्थानीय जनप्रतिनिधि र नेता तथा समुदायका अन्य सरोकारवालाको उपस्थिति रहेको थियो ।

