ढल्केवर, धनुषा ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले उत्पादनमा अग्रणी मधेशको आँपलाई सुरक्षित भण्डारण, ब्रान्डिङ र बजार विस्तार गर्न नसक्दा वर्षेनी हजारौँ मेट्रिक टन फल खेर जाने अवस्था रहेको बताएका छन्।
धनुषाको लालगढस्थित गौतम होटलमा आयोजित दोस्रो आँपसम्बन्धी विचार गोष्ठीमा बोल्दै मुख्यमन्त्री सिंहले आफ्नै देशमा प्रशस्त मात्रामा आँप उत्पादन भए पनि उपभोक्तासम्म पु¥याउन नसक्नु ठूलो विडम्बना भएको उल्लेख गरे। “आँप जोनमा भण्डारण क्षमता विस्तार गरी अन्य मौसममा पनि बिक्री–वितरण गर्न सक्ने व्यवस्था आवश्यक छ,” उनले भने।
मुख्यमन्त्री सिंहले आँपलाई देशमै ब्रान्डिङ गरेर विदेश पठाउने, विभिन्न प्रकारका जुस तथा पेय पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्ने र तीनै तहका सरकारले साझा अवधारणासहित कार्य अघि बढाउनुपर्नेमा जोड दिए। “देशको उत्पादन सुरक्षित राख्ने र बजारसम्म पु¥याउने वातावरण बनेमा कृषकदेखि उद्योगी सबै लाभान्वित हुनेछन्,” उनले स्पष्ट पारे।
सामुदायिक विकास तथा पैरवी मञ्चको आयोजनामा सम्पन्न उक्त गोष्ठीमा इसिमोड र अस्ट्रेलियन एडले आर्थिक सहयोग गरेका थिए भने आरएनडीले प्राविधिक सहयोग पु¥याएको थियो। कार्यक्रममा समन्वय मधेश प्रदेश सरकार अन्तर्गतको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले गरेको हो।
आँप उत्पादनका हिसाबले मधेश प्रदेश देशमै अगाडि रहेको तथ्यांकले देखाउँछ। नेपालमा वार्षिक पाँच लाख १७ हजार पाँच सय ५२ मेट्रिक टन आँप उत्पादन हुनेमा तीन लाख ९५ हजार नौ सय ६२ मेट्रिक टन मधेशमै उत्पादन हुन्छ। यस्तै, आँगन र घर बाहिर रोपिएका एक–दुई बोटका आँप धेरैजसो गणनामा समेत नपरेको जनाइएको छ।

