न्यायको प्रतीक मानिने कालो कोट लगाउने वकिलहरुले उल्टै हिंसात्मक व्यवहार प्रदर्शन गर्दै पत्रकारमाथि हातपात गरेका छन् । मंगलबार जनकपुरधाममा भएको घटनामा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बनजारा, महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’ लगायतका पत्रकार वकिलको आक्रमणबाट घाइते भएका छन् ।
नेपाल बार एसोसिएसनमा आबद्ध वकिलहरुले गरेको कुटपिटबाट अध्यक्ष बनजारा, महासचिव क्रान्ति, पत्रकार दिवाकर राय र अनिलकुमार निराला घाइते भएका हुन् । घाइतेमध्ये महासचिव क्रान्तिको पैतालाको हड्डी भाँचिएको छ । उनले भने, “हामी हाम्रो लिजमा लिएको जग्गामा तारबार लगाइरहेका थियौँ । तर वकिलहरुको एक समूहले जबरजस्ती आएर आक्रमण ग¥यो ।”
पत्रकार महासंघ मधेश प्रदेश समितिले जनकपुरधाम उपमहानगरपालिका–४ स्थित चार कट्ठा जग्गा गुठी संस्थानबाट २० वर्षका लागि लिजमा लिएको छ । सो जमिनमा महासंघको प्रदेश कार्यालय भवन निर्माण गर्ने योजना छ । तर, सो स्थानलाई वकिलहरुले आफ्नो पार्किङ क्षेत्र भएको दाबी गर्दै कब्जा गर्न खोजेको आरोप छ ।
महासचिव क्रान्तिका अनुसार साउन १९ गते गुठी संस्थानसँग ४ कट्ठा जग्गाको औपचारिक सम्झौता भएको हो । यसअघि जेठ ७ गते गोरखापत्र दैनिकमा तीन वटा जग्गा लिजमा दिने सम्बन्धी सूचना प्रकाशित भएको थियो । सो सूचनापछि विभिन्न संघसंस्थाले प्राविधिक र आर्थिक प्रस्तावसहित आवेदन दिएका थिए । मूल्यांकनपछि पत्रकार महासंघको प्रस्ताव स्वीकृत भएको हो ।
साउन २ गते गुठी संस्थानले महासंघलाई लिजको अधिकार पाएको सूचना पुनः गोरखापत्रमा प्रकाशित ग¥यो । त्यसपछि साउन ९ गते सम्झौता गर्न पत्र पठाइयो र अन्ततः साउन १९ गते सम्झौता सम्पन्न भयो ।
घटनापछि स्थानीय बासिन्दा र पत्रकार वकिलहरुको हिंसात्मक क्रियाकलापको तीव्र आलोचना गरेका छन् । “कानूनको रक्षा गर्नेहरूले नै कानूनी प्रक्रिया पूरा भएर प्राप्त जमिनमा हिंसा गर्नु लाजमर्दो हो ,” एक वरिष्ठ पत्रकारले भने ।
घाइते पत्रकारहरुको उपचार भइरहेको छ भने यस घटनाप्रति प्रशासनको प्रतिक्रिया अझै आएको छैन । पत्रकार महासंघले आक्रमणकारी वकिलहरूमाथि कानूनी कारबाहीको माग गर्दै विरोध कार्यक्रमको तयार गर्ने तयारी गरेको छ ।

