ढल्केबर, धनुषा ।
धनुषाको मिथिला नगरपालिकाका निजी तथा आवासीय विद्यालयका संगठन नेपाल (प्याब्सन) का प्रतिनिधिले बिहीबार नगर प्रमुख महेन्द्र महतोलाई ज्ञापनपत्र बुझाउँदै सरकारले हालै लागू गरेको शिक्षा सम्बन्धी नयाँ प्रावधानप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् ।
प्याब्सन नगर अध्यक्ष रुद्र घिघिरेको नेतृत्वमा गएको टोलीले ज्ञापनपत्र मार्फत तत्काल संशोधन गर्नुपर्ने माग राखेको हो । ज्ञापनपत्रमा विशेषगरी ‘पूर्ण छात्रवृत्ति’ सम्बन्धी प्रावधानलाई खारेज गर्नुपर्ने माग जोड दिइएको छ । अध्यक्ष घिमिरेले सरकारले निजी विद्यालयलाई प्रोत्साहन गर्नुको सट्टा अतिरिक्त आर्थिक बोझ थोपरेको आरोप लगाएका छन् । उनका अनुसार हाल १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराइरहेका विद्यालयमा पूर्ण छात्रवृत्ति लागू गर्दा निजी क्षेत्र निरुत्साहित हुने देखिन्छ ।
सरकारको नयाँ नियमअनुसार पूर्ण छात्रवृत्तिमा परीक्षा शुल्क, पाठ्यपुस्तक, शैक्षिक सामग्री, पोसाक र यातायात लगायतका अतिरिक्त खर्च पनि समावेश गरिएको छ, जसले विद्यालयमाथि आर्थिक भार थप्ने प्याब्सनको ठहर छ ।
प्याब्सनले ज्ञापनपत्रमा ‘गैरनाफामूलक’ र ‘पूर्ण छात्रवृत्ति’ जस्ता शब्दावली हटाउनुपर्ने, छात्रवृत्तिको दायरा पुरानै १० प्रतिशतमा सीमित राख्नुपर्ने, र भर्ना, वार्षिक तथा मासिक शुल्कमा मात्र छात्रवृत्ति लागू हुने स्पष्ट माग राखेको छ । ज्ञापनपत्र बुझुदै नगर प्रमुख महतोले यादवले आफ्नो तर्फबाट सक्दो पहल गर्ने आश्वासन दिएका छन् ।

