ढल्केवर, धनुषा ।
धनुषाको मिथिला नगरपालिका–८, कुसुमबिछौनामा विभिन्न पार्टी परित्याग गरी ५० जनाभन्दा बढी स्थानीय नागरिक राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । शुक्रबार आयोजित पार्टीको वडा अधिवेशनको अवसरमा उनीहरूले रास्वपामा प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरूलाई रास्वपाका प्रवक्ता तथा प्रतिनिधि सभा सदस्य मनिष झा र सांसद हरि ढकालले अबिर लगाएर स्वागत गर्दै पार्टी प्रवेश गराएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद ढकालले नव प्रवेशीलाई स्वागत व्यक्त गर्दै सुसाशनको संस्कार कायम राख्न आग्रह गरे । उनले भने, “आज पार्टी प्रवेश गर्ने साथीलाई बेलुका फोन आउँछ । त्यो फोन उठाउने होइन, काटिदिनुहोस् । स्कुल, खानेपानी वा अन्य आयोजनाका पदाधिकारी बनाउने जस्ता आश्वासन आउन सक्छन् । तर, त्यसको झुठा भनाइमा नलाग्नुहोस् । बरु खबरदारी गर्दै भ्रष्टाचारविरुद्ध उभिनुहोस् ।”
त्यस्तै, रास्वपाका झाले रास्वपा अन्य दलजस्तो सडक ठेक्का बाँड्ने वा विद्यालय–खानेपानी योजनामा पदाधिकारी बनाउने आश्वासन दिने पार्टी नभएको बताए । उनले थपे, “हामी फरक संस्कारसहित नयाँ अभ्यास गर्दैछौँ । नागरिकका मुद्दा सदनमा उठाउँदै आएका छौँ । अब स्थानीय तहमा भएका योजनामा अनियमितता भए खबरदारी गर्न तपाईंहरू अगाडि आउनुहोस् ।”
प्रवक्ता मनिष झाले रास्वपा पुराना दलभन्दा भिन्न किसिमको राजनीतिक अभ्यासमा लागिरहेको भन्दै सुधारात्मक राजनीति र सुशासनमार्फत जनताका आशा–अपेक्षा पूरा गर्ने विश्वास दिलाए ।
उक्त वडा अधिवेशन पार्टीका मिथिला नगरपालिका सभापति विजयकुमार साहको अध्यक्षतामा सम्पन्न भएको थियो ।


