महेन्द्रनगर, धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगर बजार ठेक्का वितरण प्रक्रियामा अनियमितता भएको आरोप लागेको छ ।
नगरपालिकाले कानूनी प्रक्रिया पूरा नगरी योग्य उम्मेदवार नभएका व्यक्तिलाई गैरकानूनी ढंगले ठेक्का दिएको भन्दै महेन्द्रनगरमा वडा नम्बर ६ का हरिप्रसाद राउतले पत्रकार सम्मेलनको आयोजना गरेर आपत्ति जनाएका हुन् ।
नगरपालिकाले महेन्द्रनगर बजार संचालनका लागि ८ लाख ७७ हजार रुपैयाँको ठेक्का आव्हान गरेको थियो । यसका लागि तीन जनाले निर्धारित एक हजार रुपैयाँ शुल्क बुझाई निवेदन दिएका थिए । तर तोकिएको म्यादभित्र रसिदसहित गोप्य सिलबन्दी नगरेका व्यक्तिलाई ठेक्का दिइएको भन्दै राउतले विरोध जनाए ।
नियमअनुसार १५ दिनभित्र नगद रसिदसहित ठेक्का कबोल रकमको पाँच प्रतिशत रकम वाणिज्य बैंकमा जम्मा गरी भौचर तथा सिलबन्दी निवेदन नगरपालिकामा बुझाउनुपर्ने व्यवस्था भए पनि सो प्रक्रिया पालना नगरी रामशरण यादवलाई १० लाख ५५ हजार रुपैयाँमा ठेक्का दिएको आरोप लगाइएको छ ।
राउतले आफू पनि ठेक्का आव्हानमा सहभागी भएको बताउँदै कानूनी प्रक्रिया अनुसार ठेक्का आफूलाई दिनुपर्ने दाबी गरेका छन् । उनले अन्यायपूर्ण निर्णय सच्याइएन भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी दिने चेतावनी पनि दिएका छन् ।
यस विषयमा नगरपालिकाका प्रशासकीय अधिकृत रामउद्गार अधिकारीसँग सम्पर्क गर्ने प्रयास भए पनि सम्भव हुन सकेन ।

