धनुषा ।
धनुषाको लक्ष्मीनिया गाउँपालिका–७, भगवतीपुरका एक आगलागी पीडित परिवारलाई कुम्हरौडा भगवतीपुर समाज सेवा दोहा कतारले आर्थिक सहयोग गरेको छ । शनिबार आगलगीबाट बिच्चलीमा परेका धनेश्वर राउतका परिवारलाई कुम्हरौडा भगवतीपुर समाज सेवा दोहा कतारले ५१ हजार रुपियाँ नगद आर्थिक सहयोग गरेको हो ।
मंगलबार राति करिब १ बजे धनेश्वर राउतको घरमा आगलगी भएको थियो । आगलागीबाट घर, गोठ, खाद्यन्य खसीबाख्रा र भैसीसहितको सम्पूर्ण सामग्री जलेर नष्ट भएको थियो । आगलागी पश्चात राउतको परिवार एकदमै दयनीय अवस्थामा पुगेको स्थानीयले बताएका छन् ।
पीडित परिवारको कमजोर आर्थिक अवस्थालाई दृष्टिगत गर्दै कुम्हरौडा भगवतीपुर समाज सेवा दोहा कतारका अध्यक्ष देवेन्द्र साहले विभिन्न संघ–संस्था, स्थानीय युवा, समाजसेवी, शिक्षक तथा शुभेच्छुकहरूसँग सहयोगको अपिल गरेका थिए । सोही क्रममा संकल्न भएको ५१ हजार हस्तान्तरण गरिएको हो ।
सहयोग रकम संस्थाका सल्लाहकार प्रमोद साहले शनिबार हस्तान्तरण गरे । त्यस अवसरमास्थानीय बुद्धिजीवी, शिक्षक, युवा तथा समाजसेवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
यस अवसरमा अध्यक्ष साहले आपत्कालीन अवस्थामा एकआपसमा सहयोग गर्दै अगाडि बढ्नु सबैको सामाजिक जिम्मेवारी भएको बताए । उनले विभिन्न कारणले आर्थिक समस्यामा परेका परिवारलाई संस्थाले सहयोग गर्दै आएको बताउँदै आगामी दिनमा पनि जरुरतमन्दलाई यथासम्भव सहयोग गर्ने प्रतिवद्धता जनाए ।

