ढल्केबर, धनुषा ।
धनुषाको मिथिला नगरपालिका–९, बडहरीमा रहेको शुभकामना बचत तथा ऋण सहकारी संस्थाले चौथो वार्षिक साधारण सभा तथा तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम आइतबार ढल्केवरस्थित कोमल होटलको सभाकक्षमा आयोजना गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेशका सभा सदस्य हरिनारायण महतोले सहकारी संस्थाले देशमा गरिबी न्यूनीकरणमा महत्वपूर्ण योगदान पु¥याइरहेको धारणा व्यक्त गरे । उनले पञ्चायतकालमा सरकारले गरिबी निवारणका लागि विभिन्न कार्यक्रम ल्याए पनि त्यसले अपेक्षित नतिजा दिन नसकेको उल्लेख गर्दै अहिले सहकारीले विपन्न र सीमान्तकृत वर्गलाई स्वरोजगार र आत्मनिर्भर बनाउन सफल भएको बताए ।
उनका अनुसार अघिल्लो समय पुँजीको अभावका कारण सीप भएका व्यक्तिहरू उद्यम सुरु गर्न नसक्ने अवस्था थियो । साहु–महाजन वा बैंकले धितो अभावमा ऋण दिन अस्वीकार गर्ने गर्थे तर सहकारीले बिना धितो ऋण उपलब्ध गराउन थालेपछि धेरै व्यक्तिहरू आत्मनिर्भर बनेका छन् ।
सांसद महतोले तीज पर्वको प्रसङ्ग जोड्दै हरितालिका तीजलाई सांस्कृतिक एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्ने पर्वका रूपमा मनाउनुपर्नेमा जोड दिए ।
त्यस्तै, मिथिला नगरपालिकाकी उपप्रमुख सुनिता सिंह बुढाथोकीले सहकारी संस्थाले साना ऋणमार्फत विपन्न वर्गलाई स्वरोजगार सिर्जना गर्न टेवा पु¥याएको उल्लेख गरिन् । सहकारीले ग्रामीण क्षेत्रमा साना उद्यम, कृषि तथा व्यवसाय विस्तारलाई सहज बनाउन मद्दत गरेको उनको भनाइ थियो ।
तीज पर्वको प्रसङ्गमा उपप्रमुख बुढाथोकीले यसको मौलिकतालाई जोगाउँदै अनावश्यक भड्किलोपन र खर्चिलोपन हटाउँदै सांस्कृतिक महत्वलाई संरक्षण गर्नुपर्नेमा जोड दिइन् । उनले महिलाले आफ्नो सीप र दक्षता बढाउँदै समाजको नेतृत्व तहसम्म पुग्नुपर्ने बताइन् ।
सहकारीका अध्यक्ष शिवप्रसाद तिमिल्सिनाले संस्थाको साधारण सभासँगै दर खाने कार्यक्रम तथा तीज विशेष शुभकामना आदान–प्रदान कार्यक्रम पनि आयोजना गरिएको जानकारी दिए । कार्यक्रममा वडा अध्यक्ष दीपकजङ्ग थापा, नन्दकिशोर यादवसहित सहकारीका पदाधिकारी र सदस्यहरूको उपस्थित थियो ।



