ढल्केवर, धनुषा ।
धनुषाको ढल्केवरमा उद्योगी व्यवसायीलाई सामाजिक सुरक्षा कोषका विषयमा अभिमुखिकरण गरिएको छ । ढल्केवरस्थित कोमल होटलमा मधेश प्रदेश उद्योग परिसंघ र सामाजिक सुरक्षा कोष शाखा कार्यालय जनकपुरको उद्योगी व्यवसायीलाई अभिमुखिकरण गरिएको हो ।
कार्यक्रममा सामाजिक सुरक्षा कोष जनकपुर शाखाका कार्यालय प्रमुख कैलाश यादवले योगदानमा आधारित सामाजिक सुरक्षा कोष, यसको स्थापना, उद्देश्य, सञ्चालन, योगदानकर्ता, योजना, आवद्ध हुने प्रकृया, प्राप्त हुने लाभ र आस्रित परिवारले पाउनेसेवा सुविधा लगायतका विविध विषयमा जानकारी गराउनु भएको थियो ।
उहाँका अनुसार योगदानमा आधारित सामाजिक सुरक्षा कोष श्रमिकको जीवनभरको सुरक्षाका लागि श्रमिक तथा रोजगारदाताले संयुक्त रूपमा योगदान गर्ने सरकारी योजना हो । जसमा योगदानकर्ता कामदारको नाममा मासिक तलवको ३१ प्रतिशतको दरले रकम जम्मा हुन्छ । त्यसमध्ये कामदारको तलवबाट ११ प्रतिशत र रोजगारदाताले २० प्रतिशत योगदान गर्नुपर्ने उहाँले बताउनु भयो ।
त्यसवापत कोषले दुर्घटना विमा, स्वास्थ्योपचार, मातृत्व भत्ता, शिशु स्याहार भत्ता, घातक रोग उपचार खर्च, दीर्घकालिन पेन्सन लगायतका सेवा प्रदान गर्दछ । उक्त कोषमा औपचारिक, अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिक र वैदेशिक रोजगारदाता पनि यो कोषमा आवद्ध हुन सक्नेछन् ।
मधेश प्रदेश उद्योग परिसंघका अध्यक्ष प्रमोद साहले सामाजिक सुरक्षा कोषमा आबद्ध भएपछि श्रमिकलाई भविश्यमा आईपर्ने आर्थिक संकटको सामना गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले योगदानमा आधारित सामाजिक सुरक्षा र सुविधा समेत प्राप्त हुने भएकाले निम्न आय भएका व्यक्तिका लागि बलियो टेवा पुग्ने भनाई राख्नुभयो । उहाँले भन्नुभयो–‘सरकारको स्वामित्वमा रहेका संस्थाहरू अझै पनि कोषमा नजाँदा चुनौती छ ।
त्यस्तै, उद्योग परिसंघका केन्द्रीय अध्यक्ष वीरेन्द्रराज पाण्डेले नेपालमा श्रमिकलाई दिईने न्यूनतम पारिश्रमिक एकदमै राम्रो रहेको र यहाँको महंगी लगायतका आधारमा ज्यादै न्यून रहेको बताउँदै यी दुई बिचको तारतम्य नमिल्दा युवाहरु विदेश पलायन भईरहेको भनाई राख्नुभयो । उहाँले सामाजिक सुरक्षा कोष श्रमिकको मात्रै नभई उद्योगी व्यवसायीहरुको समेत हितमा रहेको बताउँदै यसलाई अझै बैज्ञानिक बनाउन आवश्यक रहेको भनाई राख्नुभयो ।
उहाँले साना उद्योग तथा व्यवसायिक प्रतिष्ठानहरुमा छोटो अवधि काम गर्ने मजदुरलाई सामाजिक सुरक्षा कोषमा कसरी जोड्ने, उद्योगी व्यवसायीलाई त्यसबाट कसरी लाभ दिन सकिन्छ त्यसतर्फ पनि ध्यान दिईनुपर्ने भनाई राख्नुभयो ।

