बालबालिकाको भविष्य उज्वल बनाउन कुम्हरौडामा निःशुल्क ट्युसन कक्षा

|

ढल्केवर, धनुषा ।
धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–७, कुम्हरौडामा वैदेशिक रोजगारीमा गएका युवाको आर्थिक सहयोगमा सञ्चालन भइरहेको निःशुल्क ट्युसन कक्षाले स्थानीय बालबालिका लाभान्वित भएका छन् । विदेशमा कार्यरत युवाले ‘कुम्हरौडा भगवतीपुर दोहा कतार समाज सेवा’ नामक संस्था स्थापना गरी दुई वर्षअघि ट्युसन कक्षा सुरु गरेका हुन् । हाल सो कक्षामा करिब १६० विद्यार्थी नियमित अध्ययन गरिरहेका छन् ।

संस्थाका अध्यक्ष देवेन्द्र साहले बालबालिकाको भविष्य उज्वल बनाउन निःशुल्क ट्युसन कक्षा सञ्चालन गरिएको बताउनुभयो । उहाँका अनुसार कुम्हरौडाबाट वैदेशिक रोजगारीमा गएका युवाको आर्थिक सहयोगमा सञ्चालन गरिएको छ । गाउँबाट १५० भन्दा बढी युवा वैदेशिक रोजगारमा छन् । उहाँहरुले महिनाको १०–१५ रियाल संस्थालाई सहयोग गर्नुहुन्छ । त्यसैबाट यो निःशुल्क ट्युसन कक्षा सञ्चालन हुँदै आएको छ । सुरुमा विपन्न तथा सीमान्तकृत समुदायका विद्यार्थीलाई मध्यनगर गर्दै टयुसन सञ्चालन गरिए पनि अहिले सबै वर्गका बालबालिकाका आउने गरेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी विदेशमा छौँ तर हाम्रो गाउँका बालबालिकाको भविष्यमा शिक्षित होऊन् भन्ने चाहना छ । त्यसैले हामीले महिना केही रकम संकलन गरेर ट्युसन सञ्चालन गरेका हौँ ।
ट्युसन कक्षाका शिक्षक रामश्रेष्ठ साहले यो निःशुल्क ट्युसन शिक्षाले बालबालिकाको जीवनशैलीमा पनि परिवर्तन ल्याएको बताउनुभयो । लक्ष्मिनिया आधारभूत विद्यालयका शिक्षकसमेत रहनु भएका साहले बालबालिकालाई मोबाइल तथा अन्य अस्वस्थ आदतबाट जोगाउन र शिक्षासँग जोड्न निःशुल्क ट्युसन कक्षा सुरु गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘बालबालिका स्कुलबाट घर आएपछि धेरै समय मोबाइलमै बिताउँथे । कतिपय त कुलतमा फस्ने सम्भावना देखिन्थ्यो । त्यसैले मैले कम्तिमा दुई घण्टा भए पनि उनीहरूलाई मोबाइलबाट टाढा राखेर पढाइतिर मोड्ने सोच बनाएँ ।’ यस विषयमा वैदेशिक रोजगारीबाट फर्किएका युवालाई आफ्नो योजना सुनाएपछि उहाँहरुले संस्था स्थापना गरेर ट्युसन कक्षा सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार गाउँका ८० प्रतिशत बालबालिका नियमित रूपमा विद्यालय जान थालेका छन् । केही विपन्न परिवारका बालबालिका भने अझै अभिभावकसँग काममा जान बाध्य छन् भने खेलेर समय बिताउँदै आएका छन । तर ती बालबालिकालाई पनि ट्युसनमा जोड्ने प्रयास जारी छ ।

शिशु कक्षादेखि सात कक्षासम्मका पढाई हुने गरेको बताउँदै शिक्षक साहले विद्यार्थीका लागि आठ जना शिक्षक–शिक्षिकाले दैनिक दुई घण्टा पठनपाठन गराउने गरेको छन् । ती शिक्षकलाई मासिक चारदेखि पाँच हजार रुपैयाँ संस्थाले सहयोग उपलब्ध गराउँदै आएको उहाँले जानकारी दिनुभयो । कतिपय बालबालिकालाई कापी, कलम, लत्ताकपडा जस्ता सामग्री पनि संस्थाले उपलब्ध गराउँदै आएको शिक्षक साहले सुनाउनुभयो ।

स्थानीय राजन झाले कुम्हरौडा भगवतीपुर दोहा कतार समाज सेवाको यो अभियानले बालबालिकालाई शिक्षित बनाउनुका साथै गाउँको सामाजिक विकासमा समेत योगदान पु¥याएको बताउनुभयो । ग्रामीण भेगका युवाको सहयोग र स्थानीय शिक्षकको प्रयासले समाजमा सकारात्मक परिवर्तन ल्याएको उहाँको भनाइ छ ।