ढल्केवर, धनुषा ।
धनुषाको वीरेन्द्रबजारमा चारनाथ उद्योग बाणिज्य संघको आयोजनामा जारी २६औं वृहत शान्ति फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार सम्पन्न खेलमा महोत्तरीको छिन्नमस्ता बाहिनी विजयी बनेको छ ।
छिन्नमस्ता बाहिनीले सप्तरीको न्यू त्रियुगा स्पोट्र्स क्लब फत्तेपरलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको पहिलो हाफमै दबाब सिर्जना गरेको छिन्नमस्ता बाहिनीका जर्सी नम्बर १० का खेलाडी प्रविण स्याङ्दनले उत्कृष्ट प्रदर्शन गर्दै दुवै गोल गरेका थिए । उनले खेलको ३५औं मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने ६०औं मिनेटमा दोस्रो गोल गर्दै जित सुनिश्चित गरे ।
त्यस्तै, सप्तरीको टोलीका जर्सी नम्बर ९ का खेलाडी सुनिल सिंहले दोस्रो हाफमा एक गोल फर्काए पनि टोलीलाई बराबरीमा ल्याउन सकेनन् । खेलको अन्तिमसम्म दुवै पक्षले आक्रमण र बचाउमा बराबरी ताल मिलाए पनि परिणाम छिन्नमस्ता बाहिनीको पक्षमा रह्यो ।
यो जितसँगै छिन्नमस्ता बाहिनी अन्तिम चारमा स्थान बनाउन सफल भएको छ । प्रतियोगिताका आयोजकका अनुसार यस संस्करणमा आयोजक टिमसहित ८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता भदौ २५ गतेसम्म सञ्चालन हुने बताइएको छ ।
विजेता टोलीलाई १ लाख ११ हजार १११ रुपैयाँ नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेताले ६१ हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै शुक्रबारको खेलमा विराटनगरको विराट युवा स्पोर्टिङ क्लब र पर्साको विरगंज युथ एकेडेमीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।


