जनकपुरधाम
जनमत पार्टीका केन्द्रीय सचिव बीपी साहले वर्तमान सरकारलाई दिइएको समर्थन तत्काल फिर्ता लिन प्रस्ताव प्रस्तुत गरेका छन्। उनले यो प्रस्ताव पार्टीको केन्द्रीय समितिमा पेस गर्दै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देखाएको तानाशाही प्रवृत्तिले लोकतान्त्रिक मूल्य र मान्यताको अपमान गरेको आरोप लगाएका छन्।
साहका अनुसार ‘जेनजी आन्दोलन’ अन्तर्गत देशभरि युवाले भविष्य सुरक्षित गर्न र शासन व्यवस्था सुधार्न उठाएको आवाजलाई सरकारले क्रूरतापूर्वक दमन गरेको छ । उनले भने, “राज्यशक्तिको दुरुपयोग गर्दै एकै दिनमा १९ जना युवाको निर्मम हत्या गर्नु लोकतन्त्रको आत्मामा प्रहार गर्नु हो।”
उनले प्रस्तुत गरेको प्रस्तावमा यसअघि मधेश आन्दोलनका क्रममा मृतकहरूलाई ‘आतङ्ककारी’ संज्ञा दिने प्रधानमन्त्री ओली अहिले पनि नागरिक अधिकारमाथि दमनकारी शैलीमा प्रस्तुत भएको आरोप लगाइएको छ ।
साहले जनमत पार्टीकै राजनीतिक प्रस्ताव “नौलो गणतन्त्र र सामाजिक लोकतन्त्र” मा समेटिएका बुँदाहरूलाई स्मरण गराउँदै आन्दोलनकारीहरूको नेतृत्वमा अन्तरिम सरकार गठन, भ्रष्टाचारविरुद्ध छानबिन गर्न शक्तिशाली आयोग गठन, संवैधानिक निकायहरूमा प्रत्यक्ष निर्वाचित पदाधिकारीको व्यवस्था गर्नुपर्ने धारणा दोहोर्याएका छन्।
साहले पार्टीलाई आन्दोलनकारी युवाहरूसँग खडा भई लोकतन्त्र र सामाजिक न्यायका लागि निर्णायक कदम चाल्न आग्रह गरेका छन् । पार्टी भित्र अब यस प्रस्तावबारे छलफल हुने जनाइएको छ ।

