धनुषाको मिथिला नगरपालिका–२, नकटाझिजका प्रभातकुमार महतोले मखमली र गेंदा फुलको व्यवसायीक खेती गर्दै आउनुभएको छ । उहाँले तिहारलाई लक्षित गर्दै एक बिघा जमिनमा मखमली र गेंदा फूल खेती गर्नुभएको छ । यो वर्ष फूल पनि राम्रो फलेको छ, तर बजारमा उचित मुल्य नपाउँदा उहाँ निरास देखिनुभएको छ ।
महतोले भन्नुभयो, ‘तिहारमा फूल बेचेर राम्रो आम्दानी गर्छु भन्ने अपेक्षा थियो, तर बजारमा फूलको उचित मूल्य पाइँदैन । तिहारको मुखमा समेत ग्राहक छैनन्।’ उहाँका अनुसार भारतबाट अवैध रूपमा नेपाल भित्रिने फूल र बजारमा सहजै पाइने प्लास्टिकका मालाका कारण यहाँका किसानले उत्पादन गरेको फुलले उचित मुल्य नपाएको हो । उहाँले अवैध रूपमा भारतबाट नेपाल भित्रिने फूलमा नियन्त्रण गर्न र प्लास्टिकजन्य माला बिक्रीमा रोक लगाउन सरकारसँग माग गर्नुभयो ।

उहाँका अनुसार कलकत्ता, पटना, दरभङ्गाजस्ता भारतीय सहरबाट सस्तो मूल्यमा फूल नेपाल आउने गरेको छ । धनुषा जिल्लाको मुख्य फूल बजार जनकपुरधाममा पनि भारतीय फूलकै प्रभाव रहेको भन्दै उहाँले त्यसैका कारण स्थानीय फूलले मूल्य नपाएको गुनासो गर्नुभयो ।
त्यसै गाउँका माइला सुनुवारले वार्षिक ४० हजार रुपैयाँमा दुई बिघा जमिन भाडामा लिएर गेंदा फूल खेती गर्दै आउनुभएको छ । खेतीका क्रममा उहाँले जोत्नेदेखि बिरुवा रोप्ने, मल हाल्ने र सिँचाइ गर्ने गरी वार्षिक झण्डै दुई लाख रुपैयाँ खर्च गर्नुहुन्छ ।
तर तिहार नजिकिँदा पनि उत्पादन भएको फूलले मुल्य नपाउँदा खेतमा त्यतिकै छाडेको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार अहिले बजारमा फूलले उचित मुल्य पाउँदैन । भारतबाट सस्तोमा तस्करी भएर आउने फूलकै कारण नेपाली किसानको मिहिनेत गरेर उत्पादन गरेको फुलले मुल्य नपाएको सुनुवारले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘भारतबाट फूल नआएको भए हाम्रो फूल पनि राम्रो मूल्यमा बिक्थ्यो ।’
यसैगरी, धनुषाधामस्थित धनुष मन्दिरनजिकै फूलको माला बनाएर बेच्ने मानकुमारीले पनि यस्तै गुनासो सुनाउनुभयो । उहाँका छोरा रविन्द्र मालीले उत्पादन गरेको फूल बिक्री नभएपछि मन्दिर अगाडि माला बनाएर २० देखि ४० रुपैयाँमा बिक्री गर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले उत्पादन गरेको फूल खेतमै सड्छ, भारतबाट आएको फूलचाहिँ बजारमा बिक्री हुन्छ । ’
धनुषामा मात्र एक सयभन्दा बढी किसानले व्यवसायिक रूपमा फूल खेती गरिरहेका छन् । ती किसानहरूले १० कठ्ठादेखि एक बिघासम्म जमिनमा फूल लगाउने गरे पनि बजारमा मुल्य नपाएको स्थानीयको भनाइ छ ।
सखुवा महेन्द्रनगरका सञ्चारकर्मी रोहित खनालले भारतबाट तस्करी भएर आउने सस्तो फूलले स्थानीय उत्पादन ओझेलमा पारेको बताउनुभयो । उहाँका अनुसार यसले किसानलाई आर्थिक रूपमा कमजोर बनाएको छ । सरकारले भारतीय फूल आयातमा कडाइ गर्न र स्थानीय उत्पादनलाई प्राथमिकता दिने नीति बनाउनुपर्ने उहाँको भनाइ छ । तिहारजस्ता पर्वले स्थानीय किसानलाई खुशी बनाउनुको सट्टा चिन्तित बनाएको छ यो अवस्था रोक्न सरकारले ध्यान दिनुपर्ने खनाले बताउनुभयो ।

