विजय साह
धनुषा । नेपालको विद्यमान कानुनले गाँजालाई लागूऔषधको श्रेणीमा राख्दै यसको सेवन, बिक्रीवितरण, भण्डारण र ओसारपसारमा पूर्ण प्रतिबन्ध लगाएको छ । यससँगै कुनै पनि चलचित्र, म्यूजिक भिडियो, टेलिभिजन कार्यक्रम, युट्युब तथा सामाजिक सञ्जालमा गाँजा प्रयोग गरिरहेको दृश्य प्रकाशन वा प्रसारण गर्न समेत रोक लगाइएको छ । तर कानुनी प्रावधानको अवज्ञा गर्दै सप्तरी राजविराजका गायक सन्नुकुमारले सार्वजनिक गरेको ‘बैन गेलियो गजपिया’ बोलको म्यूजिक भिडियोमा खुल्लमखुल्ला गाँजा र त्यसको सेवन गरिरहेको दृश्य देखाएपछि कारबाहीको माग बढेको छ । भिडियोमा सन्नुकुमारको नै अभिनय रहेको छ ।
भिडियो सार्वजनिक भएपछि लागूऔषध दुरुपयोग रोकथाममा सक्रिय अभियन्ताले कडा आपत्ति जनाउँदै कारबाहीको माग गरेका छन् । भिडियोले युवापुस्तालाई लागूऔषध सेवनतर्फ प्रोत्साहित गरेको भन्दै उहाँहरूले भिडियो तत्काल हटाउनुपर्ने प्रतिक्रिया दिएका छन् ।
सामाजिक तथा लागूऔषध रोकथाम अभियन्ता महेश यादवले म्यूजिक भिडियोले कानूनको धज्जी उडाएको आरोप लगाउँदै भन्नुभयो, ‘मधेशमा लागूऔषध दुरुपयोगको समस्या झनै गहिरिँदै गएको बेला यस्तो भिडियोले समाजमा नकरात्मक प्रभाव पार्छ, त्यसैले गायकसहित भिडियो निर्माणमा सङ्लग्न व्यक्तिमाथि कारबाही हुनुपर्छ ।’ उहाँले कानुनअनुसार आवश्यक कारबाही र भिडियो हटाउन माग गर्नुभयो ।
चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्ड मधेश प्रदेशका अध्यक्ष किशोरकुमार लेखीले प्रदेशस्तरमा नियन्त्रणका लागि कानुनी आधार नबनेकाले यस विषयमा प्रत्यक्ष कारबाही चलाउन समस्या रहेको बताउनुभयो । उहाँले सङ्घीय सरकारले चलचित्र तथा भिडियोमार्फत अवैध गतिविधि रोक्ने व्यवस्था गरेको भए पनि प्रदेशमा सोअनुरूप कानुनी संरचना निर्माण हुन बाँकी रहेको उल्लेख गर्नुभयो ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रवक्ता कमल थापाले विषयगत युट्युब सामग्री तथा भिडियोको अध्ययन पश्चात प्रतिक्रिया दिने बताउनुभयो । उहाँले लागूऔषध दुरुपयोग विषयमा कानुनले गरेको व्यवस्था अनुसार निर्णय लिइने जानकारी दिनुभयो ।
भिडियो निर्माण पक्षका राजिव झाले भिडियोमा देखिएको दृश्य राखिएको स्थानमा ‘स्वास्थ्यका लागि हानिकारक छ’ भन्ने चेतावनी अङ्कित गरिएको बताउनुभयो । उहाँले यस विषयमा नेपाल लागूऔषध ब्यूरोबाट समेत सहमति पाइसकेको बताउँदै भिडियो कानुन उल्लङ्घन नगरेको धारणा राख्नुभयो ।

