ढल्केबर, धनुषा । धनुषामा नेकपा एमालेभित्र आन्तरिक असन्तुष्टि र दल परिवर्तनको क्रम तीव्र बन्दै गएको छ । एमालेको बलियो पकड मानिँदै आएको धनुषाको उत्तरी क्षेत्रमा पार्टी कमाण्ड सम्हाल्दै आएका महेश बस्नेत चार वर्षपछि पुनः नेपाली कांग्रेसमा फर्किने तयारीमा जुटेका छन् ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनका बेला नेपाली कांग्रेस परित्याग गरी नेकपा एमाले प्रवेश गरेका बस्नेतले धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा एमाले उम्मेदवार रघुवीर महासेठलाई जिताउन निर्णायक भूमिका निर्वाह गरेका थिए । विशेषतः उत्तरी क्षेत्रको संगठनात्मक कमाण्ड सम्हालेका कारण महासेठले सो क्षेत्रमा अत्यधिक मत प्राप्त गर्न सफल भएको एमालेकै नेताहरू बताउँछन् ।
नेकपा एमाले मधेश प्रदेश कमिटी सदस्य समेत रहेका बस्नेत पुनः आफ्नो पुरानो पार्टी नेपाली कांग्रेसमै फर्किने निष्कर्षमा पुगेको स्रोतको दाबी छ । बस्नेतको सम्भावित पुनरागमनले एमालेको संगठनमा थप धक्का पुग्ने आँकलन गरिएको छ ।
यसअघि बुधबार मात्रै नेकपा एमालेबाट धनुषा निर्वाचन क्षेत्र नम्बर ४ (१) बाट प्रदेशसभा सदस्यको चुनाव लडेका संतोष यादव पनि चार वर्षपछि नेपाली कांग्रेसमा फर्किएका छन् । २०७९ सालको निर्वाचनमा कांग्रेसबाट टिकट पाउने सुनिश्चितता नहुँदा यादव एमाले प्रवेश गरी प्रदेशसभा चुनाव लडेका थिए । यादवसँगै नेकपा एमाले परित्याग गरी २५१ भन्दा बढी नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
उनीहरू बुधबार धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा नेपाली कांग्रेसद्वारा आयोजित राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरूलाई नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र महेन्द्र यादवलगायत नेताले टीका, माला र दोसल्ला लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो ।
पछिल्लो समय धनुषामा कांग्रेसप्रति बढ्दो आकर्षण र एमालेभित्रको असन्तुष्टिले आगामी निर्वाचनमा राजनीतिक समीकरण परिवर्तन हुने संकेत गरेको दाबी गरेका छन् । एमालेबाट निरन्तर भइरहेको दल परिवर्तनले धनुषा जिल्लाको राजनीतिमा नयाँ तरंग पैदा गरेको छ भने आगामी स्थानीय तथा संघीय निर्वाचनमा यसको प्रत्यक्ष प्रभाव पर्ने देखिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

