ढल्केबर । लायन्स क्लब अफ मिथिला ढल्केबरले शीतलहरबाट प्रभावित विपन्न तथा असहाय नागरिकलाई लक्षित गरी न्यानो सिरक तथा म्याट वितरण गरेको छ । मंगलबार ढल्केबरस्थित राधाकृष्ण मन्दिर परिसरमा आयोजित एक कार्यक्रममा ५० जना विपन्न व्यक्तिलाई न्यानो सिरक तथा म्याट वितरण गरिएको हो ।
क्लबले आफ्नै सामाजिक उत्तरदायित्व कोषमा संकलित रकमबाट सिरक र म्याट वितरण गरेको जनाएको छ । तराई क्षेत्रमा पछिल्ला दुई सातादेखि लगातार शीतलहर चलिरहेको र चिसोका कारण सर्वसाधारणको जनजीवन प्रभावित भइरहेको अवस्थामा अत्यन्तै आवश्यक सहयोगका रूपमा सिरक तथा म्याट वितरण गरिएको क्लबले जानकारी दिएको छ । विशेषगरी खुला आकाशमुनि बस्न बाध्य, मजदुरी गर्ने तथा आर्थिक रूपमा कमजोर नागरिकलाई चिसोबाट जोगाउने उद्देश्यले यो कार्यक्रम गरिएको बताइएको छ ।
कार्यक्रम लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एफका गर्भनर केशरबहादुर भण्डारीको प्रमुख आतिथ्य तथा लायन्स क्लब अफ मिथिलाका अध्यक्ष शिव तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि भण्डारीले लायन्स क्लबले मानव सेवालाई ध्यानमा राखेर समाजसेवाका कार्य गर्दै आएको उल्लेख गर्दै यस्ता मानवीय कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए ।
क्लब अध्यक्ष तिमिल्सिनाले चिसोको मौसममा विपन्न वर्ग सबैभन्दा बढी प्रभावित हुने भएकाले राहतस्वरूप न्यानो सिरक तथा म्याट वितरण गरिएको जानकारी दिए । उनले क्लबले शिक्षा, स्वास्थ्य, वातावरण तथा विपद् व्यवस्थापनका क्षेत्रमा यस्ता सामाजिक सेवाका कार्यक्रम गर्दै आएको बताउँदै आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाए ।
सिरक तथा म्याट प्राप्त गर्ने लाभग्राहीहरूले कठ्याङ्ग्रिने जाडोमा सहयोग पाउँदा राहत मिलेको प्रतिक्रिया दिएका थिए । कार्यक्रममा लायन्स क्लबका पदाधिकारी, स्थानीय जनप्रतिनिधि,समाजसेवी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

