ढल्केबर, धनुषा ।
मधेश प्रदेश सभाका सभामुख रामअशिष यादवले वर्तमान शिक्षा प्रणालीलाई संस्कार, नैतिकता र गुणस्तरसँग जोडेर अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । उहाँले आइतबार धनुषाको ढल्केबरमा आयोजित निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) धनुषाको दोस्रो जिल्ला परिषद भेलालाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।
सभामुख यादवले पछिल्लो पुस्तामा समाजप्रतिको आदरसम्मान गर्ने संस्कार कमजोर हुँदै गएको उल्लेख गर्दै शिक्षा केवल किताबी ज्ञानमा सीमित नराखी जीवन उपयोगी बनाइनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘योग, अनुशासन र नैतिक शिक्षासँगै आधुनिक प्रविधिको उच्चतम प्रयोग गरेर मात्र गुणस्तरीय र सन्तुलित शिक्षा सम्भव हुन्छ ।’
उहाँले निजी विद्यालयले शिक्षाको स्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रविधिमैत्री शिक्षा र व्यवहारिक सिकाइमा जोड दिन आग्रह गर्नुभयो । शिक्षकको निरन्तर क्षमता विकास, अभिभावक र विद्यालयबीचको सहकार्य मजबुत बनाउनुपर्नेमा समेत जोड दिनुभयो ।
कविर बालआश्रमका संस्थापक सत्यनारायण आलोकले शिक्षा नै जीवनको आधारभूत आवश्यकता भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, समाज परिवर्तनको मूल ढोका शिक्षा नै हो ।
कार्यक्रममा प्याब्सनका केन्द्रीय सचिव विष्णु न्यौपानेले निजी विद्यालयलाई समयानुकूल, जिम्मेवार र उत्तरदायी बनाउन सङ्गठन क्रियाशील रहेको बताउनुभयो । उहाँले शिक्षामा गुणस्तर कायम राख्दै राज्यका नीति तथा नियमको पालना गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
त्यसैगरी, प्याब्सन मधेश प्रदेशका अध्यक्ष गणेश साहले प्रदेशमा निजी तथा आवासीय विद्यालयले शिक्षामा पहुँच र गुणस्तर दुवै बढाउन योगदान दिएको बताउनुभयो । उहाँले शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्बन्ध मजबुत बनाएर शिक्षा क्षेत्रमा देखिएका चुनौती समाधान गर्न सकिने धारणा राख्नुभयो ।
यस्तै, जिल्ला अध्यक्ष नवलकुमार यादवले धनुषा जिल्लामा निजी तथा आवासीय विद्यालयबीच आपसी सहकार्य र समन्वय बढाउँदै गुणस्तरीय शिक्षा प्रवद्र्धनमा प्याब्सन क्रियाशील रहेको बताउनुभयो । उहाँले शिक्षकको पेशागत विकास, विद्यार्थीको नैतिक अनुशासन तथा
अभिभावकसँगको सम्बन्ध सुदृढ गर्नु आजको आवश्यकता भएको उल्लेख गर्नुभयो । भेलामा जिल्लाभरिका निजी तथा आवासीय विद्यालयका सञ्चालक, प्रधानाध्यापक तथा शिक्षा क्षेत्रमा आबद्ध व्यक्तिहरूको उपस्थिति रहेको थियो ।


