मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गुणस्तरीय शिक्षाको प्रवद्र्धनमा निजी विद्यालयले महत्वपूर्ण योगदान दिइरहेको बताउनुभएको छ । निजी क्षेत्रको सक्रियता र व्यवस्थापनका कारण विद्यार्थीले स्तरीय शिक्षा पाउने वातावरण बनेको उहाँले बताउनुभयो ।
शनिबार धनुषाको मिथिला बिहारी नगरपालिकास्थित पुरनदाहामा आयोजित निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मधेश प्रदेशको दोस्रो परिषद् भेलामा बोल्दै मुख्यमन्त्री यादवले निजी विद्यालयहरू शिक्षा सुधारका भरपर्दा आधार बन्दै गएको धारणा राख्दै सामुदायिक विद्यालयको गुणस्तर अझै सन्तोषजनक बन्न नसकेको स्वीकार गर्नुभयो ।
मुख्यमन्त्री यादवले राजनीतिक नियुक्तिका कारण सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किएको स्वीकार गर्दै त्यसको सुधारका लागि सरकार क्रमिक रूपमा अघि बढिरहेको बताउनुभयो । उहाँले अब लोकसेवा आयोगबाट आएका दक्ष शिक्षकमार्फत सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय हुँदै गएको विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘राजनीतिक नियुक्तिका कारण धेरै सामुदायिक विद्यालय गुणस्तरविहीन भएका छन् । हामी हटाउन पनि सक्दैनौँ, दबाब दिएर पढाउन पनि सक्दैनौँ । तर बिस्तारै सुधार गर्दैछौँ । अहिले लोकसेवाबाट आएका शिक्षकहरू स्तरीय हुनुहुन्छ र उहाँहरूबाट राम्रो शिक्षा दिन सकिन्छ भन्ने विश्वास छ ।’ उहाँले शिक्षा विधेयक तथा शिक्षा ऐनमा रहेका केही त्रुटि सच्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
‘यदि यहाँ राम्रो शिक्षा दिन सकिएन भने अभिभावकले बाध्य भएर काठमाडौँ वा अन्य सहर पठाउनुपर्छ । यहाँ पाँच हजारमा पढ्न सकिने विद्यार्थीलाई बाहिर पठाउँदा २५ हजार खर्च हुन्छ । त्यो आर्थिक बोझ मधेशकै परिवारले व्यहोर्नुपर्छ, मुख्यमन्त्री यादवले थप्नुभयो ।
स्रोतसाधन सीमित भए पनि प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताउँदै उहाँले सङ्घीय सरकारले मधेशलाई पर्याप्त बजेट नदिएको गुनासो गर्नुभयो । देशको एक तिहाइ विद्यार्थी मधेशमा रहे पनि बजेट विनियोजन अत्यन्त न्यून रहेको उहाँको भनाइ थियो ।
प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारीले निजी विद्यालयले सीमित स्रोतसाधनका बीच पनि गुणस्तरीय, प्रविधिमैत्री र प्रतिस्पर्धी शिक्षा प्रदान गर्दै आएको बताउनुभयो । शिक्षा क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राखेर स्थिर र स्पष्ट नीति निर्माण गर्न सरकारसँग उहाँले माग गर्नुभयो ।
त्यसैगरी प्याब्सन मधेश प्रदेशका अध्यक्ष गणेश साहले प्रदेशभर निजी विद्यालयले हजारौँ विद्यार्थीलाई स्तरीय शिक्षा दिँदै आएको बताउँदै ग्रामीण तथा दुर्गम क्षेत्रमा समेत शिक्षा पहुँच विस्तार गर्न संगठन प्रतिबद्ध रहेको जानकारी दिनुभयो ।
भेलामा प्रदेशभरका निजी विद्यालय सञ्चालक, शिक्षकको उल्लेखनीय सहभागिता रहेको थियो ।

