ढल्केबर, धनुषा ।
नेपाली कम्युनिष्ट पार्टीका नेता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार मातृकाप्रसाद यादवले नेतृत्व चयन गर्दा उमेरभन्दा विचार, निष्ठा र अनुभवलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । नयाँ अनुहारको माग भइरहेका बेला आफू उम्मेदवार बन्नुको कारण स्पष्ट पार्दै उनले राजनीति केवल उमेरको खेल नभई दृष्टिकोण र प्रतिबद्धताको विषय भएको बताएका हुन् ।
एक अन्तर्वार्ताका क्रममा उनले भने, मैले धेरै युवालाई अगाडि आउन र चुनाव लड्न आग्रह गरेँ, तर कोही तयार भएनन् । अन्तिममा मनोनयनको चार दिनअघि मात्रै मैले चुनाव लड्ने निर्णय लिएको हुँ ।’
उनका अनुसार हरेक राजनीतिक परिवर्तनमा युवाको भूमिका अग्रपङ्क्तिमा रहने गरेको इतिहास छ । ‘जनयुद्ध होस्, जनआन्दोलन होस् वा मधेश आन्दोलन सबैमा युवाहरूको योगदान प्रमुख छ,’ उनले भने, ‘तर राजनीतिमा विचार, अनुभव र परिपक्वताको पनि उत्तिकै आवश्यकता पर्छ।’
यादवले ‘जेन–जी’ को नाम लिएर राजनीति गर्ने तर निर्णयको बेला पुरानै अनुहार अघि सार्ने प्रवृत्ति देखिएको आरोप लगाए । ‘विचार नै प्रमुख कुरा हो । विचारबिनाको नेतृत्वले कुनै पनि समस्याको समाधान गर्न सक्दैन,’ उनले भने ।
उनले आफ्नो पार्टीले युवालाई प्राथमिकता दिएको दाबी गर्दै मधेश प्रदेशमा मात्रै ३० वर्षमुनिका युवा, इन्जिनियर र डाक्टरहरूलाई उम्मेदवार बनाइएको जानकारी दिए । ‘तर अझै धेरै युवाहरू जिम्मेवारी लिन तयार देखिएनन्,’ उनले थपे । युवाको परिभाषा स्पष्ट गर्दै उनले भने, ‘हामीलाई क्रान्तिकारी, इमानदार, देशप्रति समर्पित र कुलतमा नफसेका सचेत युवा चाहिन्छ।’
आफ्नो चुनावी एजेन्डाबारे बोल्दै यादवले संघीयताको पूर्ण कार्यान्वयन, सुशासन र समृद्धि मुख्य प्राथमिकता रहेको बताए । ‘संघीयता अझै पूर्ण रूपमा लागू हुन सकेको छैन । यसलाई प्रभावकारी बनाउँदै जनतालाई प्रत्यक्ष लाभ पु¥याउनु आवश्यक छ,’ उनले भने । उनका अनुसार रुग्ण उद्योगहरू सञ्चालनमा ल्याएर रोजगारी सिर्जना गर्नु पार्टीको प्रमुख योजना हो ।
आफू मन्त्री हुँदा उद्योगहरूको बक्यौता फस्र्यौट गरी सञ्चालनमा ल्याउन पहल गरेको उल्लेख गर्दै उनले भने, ‘मैले उद्योगहरूलाई सञ्चालन गर्ने प्रक्रिया सुरु गरेको थिएँ । उद्योग फस्टाएको र नेपालीले रोजगारी पाएको केहीलाई मन परेन र मलाई पदबाट हटाइयो।’ देशलाई आत्मनिर्भर बनाउनु नै दीर्घकालीन समाधान भएको उनको भनाइ छ ।
यादवले नेपाली युवाहरू वैदेशिक रोजगारीका लागि खाडी मुलुक धाउन बाध्य हुनु दुःखद रहेको बताए । ‘यसले परिवार विखण्डन, सामाजिक समस्या र विकृति निम्त्याएको छ,’ उनले भने, ‘हामी नेपालमै रोजगारी सिर्जना गरेर परिवारलाई सँगै राख्न चाहन्छौँ।’ उनले नेपालको सार्वभौमसत्ता विदेशी प्रभावबाट मुक्त राख्नुपर्नेमा पनि जोड दिए ।
यदि आफ्नो पार्टीको बहुमतको सरकार बने पाँच वर्षभित्र देशको स्वरूप बदलिने दाबी गर्दै उनले भने, ‘मधेशको आवाज बुलन्द गर्न र यहाँका समस्या समाधान गर्न संसदमा हाम्रो बलियो उपस्थिति आवश्यक छ।’ मधेशको समृद्धिलाई राष्ट्रिय समृद्धिसँग जोड्दै उनले भने, ‘जब मधेश समृद्ध हुन्छ, तब मात्र नेपाल समृद्ध हुन्छ । मधेशी जनताले सम्मानपूर्वक बाँच्न पाए मात्र देशमा विभेद अन्त्य हुन्छ ।’
उनले मतदातासँग आग्रह गर्दै भने, ‘नेतृत्व छान्दा उमेर मात्र होइन, विचार, निष्ठा र इमानदारिता हेर्नुस् । म यो चुनावी मैदानमा मात्र होइन, जीवनभर मधेश र जनताको हक–अधिकारका लागि लडिरहनेछु ।

