ढल्केबर ।
देशमा स्थिर सरकारको सन्देश बोकेर चौरजहारी नगरपालिका–१३, रुकुम पश्चिमका ४४ वर्षीय विजयकुमार शर्मा मेचीदेखि महाकालीसम्म पैदल यात्रामा निस्किनुभएको छ । उहाँले मेची नदीमा दियो बालेर यात्रा सुरु गर्नुभएको हो ।
धनुषाको ढल्केबर आइपुग्नुभएका शर्माले राजनीतिक स्थायित्व, सुशासन र समृद्धिका लागि मेची महाकाली पैदल यात्रामा निस्किएको बताउनुभयो । लेखक तथा पशुपालक व्यवसायीसमेत रहनुभएका उहाँले २०४८ सालदेखि निरन्तर मतदान गर्दै आए पनि देशले राजनीतिक स्थिरता पाउन सकेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले बारम्बार भोट हाल्यौँ, तर स्थिर सरकार बनेन । दलहरू मिलेर सरकार बनाउँछन्, तर जनताको समस्या ज्युँका त्युँ छ । गठबन्धनका कारण देशमा अस्थिरता बढेको दाबी उहाँले गर्नुभयो । उहाँका अनुसार दुई÷तीन दल मिलेर सरकार बनाउँदा भागबण्डा सुरु हुन्छ । त्यसपछि कसले कहाँबाट के पाउने भन्ने खेल चल्छ । यस्तो व्यवस्थाले देशको अस्तित्व नै खतरामा परेको छ ।
शर्माले अहिले स्थिर सकार बनाउने जिम्मा जनताको हातमा रहेको बताउँदै अब मतदाताले मत विभाजन नगरी एउटै पार्टीलाई स्पष्ट बहुमत दिएर पाँच वर्ष सरकार चलाउने अधिकार दिनुपर्ने धारणा राख्नुभयो ।
‘जुन पार्टीलाई जिताए पनि हुन्छ, तर एउटै पार्टीलाई जिताऔँ । स्थिर सरकार बने मात्रै देशमा विकास, सुशासन र समृद्धि सम्भव हुन्छ, उहाँले थप्नुभयो । धर्म र आस्थाको उदाहरण दिँदै उहाँले अनुशासित मतदानमार्फत देशको भविष्य सुरक्षित बनाउनुपर्ने उहाँको भनाइ छ । पैदल यात्रासँगै विभिन्न ठाउँमा सर्वसाधारणसँग भेटघाट गरी राजनीतिक स्थायित्वको सन्देश फैलाइरहेको उहाँले बताउनुभयो ।

