धनुषा १ मा राप्रपाको क्षेत्रीय भेला सम्पन्न, चुनावी तयारी तीव्र

|

धनुषा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) धनुषा निर्वाचन क्षेत्र नम्बर–१ को क्षेत्रीय भेला शनिबार सम्पन्न भएको छ । धनुषाधाम आयोजित भेलाले आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार र प्रचारप्रसारलाई तीव्र बनाउने निर्णय गरेको छ ।

भेलालाई पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार मनोज मल्ल ठकुरीले सम्बोधन गर्दै धनुषा–१ मा राप्रपाको जित सुनिश्चित गर्न नेता–कार्यकर्तालाई एकजुट हुन आह्वान गर्नुभयो । उहाँले देशमा बढ्दो राजनीतिक अस्थिरता, भ्रष्टाचार र बेरोजगारीले जनतामा निराशा बढाएको उल्लेख गर्दै अब देशको नेतृत्व राप्रपाले लिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

उहाँले नेपाललाई धर्मनिरपेक्ष बनाइएपछि सामाजिक र सांस्कृतिक पहिचान कमजोर बनेको उल्लेख गर्दै हिन्दू राष्ट्र स्थापना नै नेपाली मौलिकता जोगाउने आधार भएको बताउनुभयो । ‘नेपाल विश्वकै एक मात्र हिन्दू राष्ट्र थियो। हाम्रो पहिचान, संस्कृति र परम्परा जोगाउन हिन्दू राष्ट्र आवश्यक छ । यही एजेन्डाका लागि जनताले राप्रपालाई मत दिन्छन्, मल्लले भन्नुभयो ।

जनताले बारम्बार पुराना दलहरूलाई विश्वास गरेर मत दिएका छन्, तर विकास र सुशासनको प्रत्याभूति पाउन सकेका छैनन् । धनुषा–१ को समग्र विकास, कृषि आधुनिकीकरण, युवालाई रोजगारी र धार्मिक–पर्यटन प्रवद्र्धन हाम्रो प्राथमिकता हो । धनुषाधामजस्तो धार्मिक क्षेत्रको पूर्वाधार विकास गरेर यसलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय पर्यटन केन्द्रका रूपमा विकास गर्नुपर्ने उहाँको भनाइ थियो ।

भेलामा सहभागी नेताकार्यकर्ताले क्षेत्रका विभिन्न वडामा घरदैलो कार्यक्रम, युवा परिचालन र सामाजिक सञ्जालमार्फत सशक्त प्रचार अभियान सञ्चालन गर्ने रणनीति तय गरेका छन् ।

सोही भेलाबाट प्रचारप्रसारका लागि विभिन्न समिति गठन गरिएको छ । क्षेत्रीय संयोजकमा विनोदकुमार अधिकारी, क्षेत्रीय इन्चार्ज तथा मोबाइल टोली संयोजकमा राजकुमार साह (राजु) चयन हुनुभएको छ। त्यसैगरी धनुषाधाम नगरपालिका संयोजकमा श्रवणकुमार दहाल, सबैला नगरपालिका संयोजकमा सरोजकुमार यादव, गणेशमान चारनाथ नगरपालिका संयोजकमा पुरुषोत्तम सापकोटा, हंसपुर नगरपालिका संयोजकमा धनु यादव, मिथिला बिहारी संयोजकमा गंगा यादव, मिथिला नगरपालिका संयोजकमा श्याम लामा र क्षिरेश्वरनाथ नगरपालिका संयोजकमा रामचन्द्र यादव चयन हुनुभएको छ ।

भेलामा पार्टीका जिल्ला तथा क्षेत्रीय तहका नेता, कार्यकर्ता र शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।