धनुषा । धनुषाको महेन्द्रनगरमा आयोजित एक कार्यक्रमबीच ७० भन्दा बढी जेन–जी युवा नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा एमालेका युवा नेता रोहितकुमार साहको नेतृत्वमा ७० भन्दा बढी युवा कांग्रेसमा प्रवेश गरेका हुन्। कार्यक्रममा नवप्रवेशी युवाहरूलाई कांग्रेसका पूर्व सह–महामन्त्री तथा धनुषा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार महेन्द्र यादवले अबिर र माला लगाएर स्वागत गर्नुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार यादवले युवाहरूको प्रवेशले पार्टी थप सशक्त र संगठित बनेको बताउनुभयो। उहाँले युवाको सक्रियताले आगामी निर्वाचनमा जित सुनिश्चित हुने दाबी गर्नुभयो। “युवाको विचार, स्वतन्त्रता र समृद्धिको ग्यारेन्टी गर्न सक्ने एक मात्र पार्टी नेपाली कांग्रेस हो,” उहाँले भन्नुभयो।
उहाँले आजका युवाको मुख्य चाहना स्वतन्त्रता, रोजगारी र आफ्ना सपनालाई साकार पार्ने अवसर रहेको उल्लेख गर्दै युवाको भावना र आकांक्षालाई कांग्रेसले सम्मान गर्ने बताउनुभयो।

