धनुषा १ मा मुख्य दलका परिचित अनुहारबीच बहुपक्षीय प्रतिस्पर्धा

|

विजय साह
ढल्केबर, धनुषा ।
धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा यसपटकको प्रतिस्पर्धा रोचक हुने देखिएको छ । मुख्य दलका परिचित अनुहारबीच प्रतिस्पर्धा हुने भएकाले यहाँको चुनावी समीकरण रोचक बनेको हो ।

यस क्षेत्रमा नेपाली कांग्रेसबाट रामपल्टन साह, नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट रामचन्द्र मण्डल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट मातृकाप्रसाद यादव, जनता समाजवादी पार्टी (जसपा) बाट दीपक कार्की, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट किशोरी साह (कमल) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मनोजमल्ल ठकुरी, उज्यालो नेपालबाट महेश यादवसहित ४० भन्दा बढी उम्मेदवार चुनावी मैदानमा छन् ।

कांग्रेसका साह बाहेक अधिकांश उम्मेदवार यसअघि विभिन्न निर्वाचनमा प्रतिस्पर्धा गरिसकेका वा निर्वाचित भइसकेका अनुभवी नेता हुन् । नेकपा (एमाले) का मण्डल प्रदेशसभा सदस्य तथा सभामुखको जिम्मेवारी सम्हालिसक्नुभएको नेता हुनुहुन्छ । उहाँ प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्नुभएको हो । यसअघि उहाँ २०७४ मा धनुषा क्षेत्र नम्बर १ ‘ख’ बाट तत्कालीन नेकपा (माओवादी केन्द्र) र २०७९ मा नेकपा (एमाले) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

मण्डललले पार्टीले नयाँ जिम्मेवारी दिएकाले प्रदेशसभाबाट राजीनामा दिएर चुनावमा होमिएको बताउनुभयो । निर्वाचित हुनेमा विश्वास रहेको बताउँदै प्रदेशसभाबाट दुई कार्यकाल जनतालाई सेवा गरेको र अब बृहत् रूपमा जनतालाई सेवा गर्न प्रतिनिधिसभामा उम्मेदवारी दिएको जानकारी दिनुभयो ।

नेकपाका यादव २०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिक प्रणालीबाट निर्वाचित हुनुभएको थियो । प्रत्यक्ष निर्वाचनतर्फ भने उहाँ २०७४ सालमा धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको थियो । तर २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा भने उहाँ जसपाका कार्कीसँग पराजित हुनुभएको थियो ।

यादवले वर्तमान निर्वाचनलाई सामान्य प्रतिस्पर्धा नभई राजनीतिक उपलब्धि संरक्षणको लडाइँका रूपमा लिएको धारणा राख्नुभयो । उहाँले शिक्षा, स्वास्थ्य र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । अघिल्लो निर्वाचनमा गठबन्धनका साथी इमानदार नहुँदा पराजित भएको उहाँको भनाइ छ ।

रास्वपाका साह २०७४ मा नेकपा (एमाले) बाट क्षेत्र नम्बर १ ‘क’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा जनमत पार्टीबाट उम्मेदवार बन्नुभएको उहाँ यसपटक रास्वपाबाट प्रतिस्पर्धामा हुनुहुन्छ ।

नेपाली कांग्रेसका रामपल्टन साहले अवसरवादको अन्त्य र सुशासन स्थापना आफ्नो प्राथमिकता भएको बताउनुभएको छ । सच्चिएको कांग्रेसले देशलाई स्थायित्वको मार्गमा लैजान कांग्रेस आवश्यक रहेको उहाँको भनाइ छ । सङ्घीयता सुदृढीकरण, भ्रष्टाचार नियन्त्रण तथा जनउत्तरदायी शासन प्रणाली निर्माणमा आफू प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । आफू यस क्षेत्रको नयाँ अनुहार भएकाले मतदाताबाट सकारात्मक साथ पाउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

राप्रपाका मल्लले बुबा हेमबहादुर मल्ल (शेरे धनुषा) को विरासत जोगाउन उमेदवारी दिएको बताउनुभयो । कृषिलाई प्राथमिकतामा राखेर काम गर्ने योजना रहेको र सोही आधारमा मत मागिरहेको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, बुबाले पञ्चायतकालमा गर्नुभएको बाहेक यस क्षेत्रमा खासै विकास भएको छैन । बुबा किसान, आम जनता र विपन्नका लागि काम गर्नुहुन्थ्यो । मेरो काम गर्ने योजना पनि त्यही छ ।’

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा जसपाका कार्की २७ हजार ४३२ मतसहित विजयी हुनुभएको थियो । उहाँका निकटतम प्रतिस्पर्धी त्यसबेलाका नेकपा (माओवादी केन्द्र) का मातृकाप्रसाद यादवले २१ हजार ४८३ मत प्राप्त गर्नुभएको थियो । जनमत पार्टीबाट प्रतिस्पर्धा गरेका किशोरी साहले १४ हजारभन्दा बढी मत ल्याउनुभएको थियो भने राप्रपाका उम्मेदवारले मल्लले आठ हजारभन्दा बढी मत प्राप्त गर्नुभएको थियो ।

त्यसबेला राष्ट्रिय स्वतन्त्र पार्टीको न्यून मत प्राप्त भएको थियो । प्रदेशसभा निर्वाचनतर्फ क्षेत्र ‘क’ मा नेपाली कांग्रेसका सञ्जयकुमार महतो विजयी भएको थियो भने क्षेत्र ‘ख’ मा नेकपा (एमाले) का मण्डल निर्वाचित हुनुभएको थियो । यस निर्वाचन क्षेत्रमा मिथिला, सबैला, धनुषाधाम, गणेशमान चारनाथ, मिथिला बिहारी, हंसपुर र क्षिरेश्वरनाथ नगरपालिकाका ४४ वडा पर्दछन् ।