पुस्ता जोड्ने अभियानका रूपमा निर्वाचन : शरतसिंह भण्डारी

|

जलेश्वर । जसपा नेपालका वरिष्ठ नेता एवम् महाेत्तरी क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य उम्मेद्वार शरतसिंह भण्डारीले आम निर्वाचनलाई “पुस्ता जोड्ने अभियान” का रूपमा व्याख्या गरेका छन्। आफू स्वयं उम्मेदवारका रूपमा चुनावी मैदानमा रहेका भण्डारीले यो निर्वाचनलाई सत्ताकाे प्रतिस्पर्धा नभई राजनीतिक अनुभव र युवापुस्ताको ऊर्जाबीच सेतु निर्माण गर्ने अवसर भएको बताएका छन् ।

चार दशकभन्दा बढी समयदेखि सक्रिय राजनीतिमा संलग्न भण्डारीले विगतका आन्दोलन, अधिकार प्राप्तिका संघर्ष र समावेशी व्यवस्थाका उपलब्धिलाई स्मरण गर्दै अबको प्राथमिकता थप उपलब्धि हासिल गर्ने र प्राप्त उपलब्धिको संस्थागत कार्यान्वयन भएको उल्लेख गरे। “हामीले अधिकारका लागि लड्यौँ, संविधानमा समावेशी व्यवस्था सुनिश्चित गर्‍यौँ। अब ती उपलब्धिलाई दिगो बनाउँदै विकास र समृद्धिमा रूपान्तरण गर्नु जरुरी छ,” उनले भने।

उनका अनुसार पुरानो पुस्तासँग अनुभव र राजनीतिक परिपक्वता छ भने नयाँ पुस्तासँग ऊर्जा, प्रविधि ज्ञान र विश्वदृष्टि छ। “यी दुई शक्ति एक–अर्काका पूरक हुन्। अनुभवले दिशा दिन्छ, ऊर्जाले गति दिन्छ,” भण्डारीले बताए।

आफू चुनाव लड्नुको उद्देश्य पद प्राप्ति नभई जिम्मेवारी हस्तान्तरण र सहकार्यको वातावरण निर्माण गर्नु रहेको उनले स्पष्ट पारे। युवालाई मतदाता मात्र नभई सहयात्री र भावी नेतृत्वका रूपमा हेर्ने दृष्टिकोण राखेको उनको भनाइ छ।

भण्डारीले यस निर्वाचनलाई विगतको संघर्ष र भविष्यको सम्भावनाबीचको पुल निर्माण गर्ने ऐतिहासिक अवसरका रूपमा चित्रण गर्दै सबै पुस्तालाई सहकार्यका लागि आह्वान गरेका छन् ।