युवा इन्जिनियर सञ्जयलाई जिताउन प्रचण्डको अपिल

|

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धनुषा क्षेत्र नं ४ मा आफ्ना उम्मेदवार युवा इन्जिनियर संजय कुमार महतोलाई विजयी गराउन मतदातासँग अपिल गरेका छन् ।

आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जारी गरिएको भिडियो सन्देशमार्फत उनले युवा इन्जिनियर महतोको पक्षमा भोट मागेका हुन् । प्रचण्डले कुशासन, बेथिति र महँगीविरुद्ध सशक्त आवाज उठाउँदै आएका दूरदर्शी विद्यार्थी नेता महतो संसदका लागि उपयुक्त उम्मेदवार भएको जिकिर गरे ।

उनले युवा पुस्ताको प्रतिनिधित्व गर्ने महतो संसदमा पुगे देश र क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै राम्रो मतान्तरसहित निर्वाचित हुने दाबीसमेत गरे ।

विशेषगरी युवापुस्तामाझ ‘जेनजी’ भावनाअनुसार नयाँ सोच र व्यवहारिक योजनासहित अघि बढेको उम्मेदवारका रूपमा उनलाई हेरिएको छ । घरदैलो अभियान, साना अन्तरक्रिया र डिजिटल माध्यमको प्रभावकारी प्रयोगमार्फत महतोले आफूलाई परम्परागत राजनीतिक शैलीभन्दा फरक ढंगले प्रस्तुत गरेका छन् । विकास, पारदर्शिता र नीतिगत सुधारलाई केन्द्रीय एजेन्डा बनाउँदै उनले चुनावी बहसलाई मुद्दामुखी बनाउने प्रयास गरेका छन् ।

उनको प्रमुख प्राथमिकतामा कृषि क्षेत्र परेको छ । किसानका समस्या नीतिगत तहबाट समाधान गर्ने आफ्नो सपना रहेको बताउँदै उनले उत्पादन लागतअनुसार मूल्य सुनिश्चितता, मल–बीउको समयमै उपलब्धता, सिँचाइ पूर्वाधार विस्तार, कृषि बीमाको प्रभावकारी कार्यान्वयन तथा व्यवस्थित बजारीकरण प्रणाली स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् । धनुषा–४ जस्तो कृषि सम्भावना बोकेको क्षेत्रमा दीर्घकालीन नीति हस्तक्षेप आवश्यक रहेको उनको तर्क छ ।

महतोले कृषि मात्र होइन, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारीलाई पनि समान रूपमा प्राथमिकतामा राखेका छन् । शिक्षामा गुणस्तर सुधार र प्राविधिक शिक्षाको विस्तार, स्वास्थ्य सेवामा पहुँच र पूर्वाधार सुदृढीकरण, पर्यटन प्रवद्र्धनमार्फत स्थानीय अर्थतन्त्र चलायमान बनाउने तथा युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने विषयमा नीतिगत तहबाट पहल गर्ने उनको योजना छ ।

को हुन् सञ्जय?
धनुषामै विद्यालय शिक्षा पूरा गरेर उच्च शिक्षाका लागि काठमाडौं छिरेका सञ्जय पेसाले सिभिल इन्जिनियर हुन् । उनले २०६९ सालमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतको थापाथली क्याम्पसबाट इन्जिनियरिङमा स्नातक गरेका छन् ।

काठमाडौं आएलगत्तै उनी तत्कालीन माओवादीको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीमा आबद्ध भए । सुरुवाती चरणमा क्लास कमिटीबाट राजनीति सुरू गरेका उनले रञ्जित तामाङ अध्यक्ष हुँदा बागमती प्रदेश कमिटी मार्फत केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाले । पछि पञ्चा सिंह अध्यक्ष हुँदा उनले सचिवालय सचिवको रूपमा काम गरे ।

‘म विद्यार्थी राजनीतिबाटै आएको हुँ,’ सञ्जय भन्छन्, ‘पछिल्लो समय प्रदेश कमिटीमा रहेर काम गरिरहेको थिएँ । जेन–जी आन्दोलन अगाडि नै प्रचण्डले तपाईं विद्यार्थी राजनीतिबाट थोरैले हार्नुभयो, अब प्रतिनिधिसभाको तयारी गर्नुस् भन्नुभएको थियो । आन्दोलनले चुनावको वातावरण बनाइदिएपछि जिल्लाका नेताहरूले पनि ल, यसपटक इन्जिनियर सञ्जयलाई हेरौँ भन्दै अघि सार्नुभयो ।’

सञ्जयको पारिवारिक पृष्ठभूमि पनि राजनीतिक नै हो । उनका बुवा २०५४ सालमा जनमोर्चाबाट वडा अध्यक्ष निर्वाचित भएका थिए । पार्टी एकीकरणपछि पनि बुवा राजनीतिमै सक्रिय थिए । तर, पारिवारिक आर्थिक जिम्मेवारीले गर्दा बुवाले राजनीतिलाई निरन्तरता दिन सकेनन् । ‘तीन दिदीहरूको विवाह र मधेसको सामाजिक संरचनामा लाग्ने खर्चको जोहो गर्नुपर्ने हुँदा बुवाले बाध्य भएर राजनीति छाड्नुपर्यो’, सञ्जय सुनाउँछन् ।

पेशा र राजनीति सँगसँगै
२०७३ सालमा इन्जिनियरिङ सकेपछि सञ्जयले आफ्नो पेसालाई पनि निरन्तरता दिए । विगत १० वर्षदेखि उनी निर्माण व्यवसाय र डिजाइनको क्षेत्रमा सक्रिय छन् ।

‘मैले स्थानीय तह, शहरी विकास विभाग, सिंचाइ तथा सडक विभागका धेरै काम गरेको छु । करिब २०० भन्दा बढी स्थानीय तहका संरचनाहरूको डिजाइन र डीपीआरको काम गरेको अनुभव मसँग छ’, उनी भन्छन् । हाल उनी धनुषामै बसेर राजनीति र आफ्नो पेसालाई सँगै अगाडि बढाइरहेका छन् ।

मधेशको राजनीतिमा विचार र सिद्धान्तका अलावा आर्थिक प्रभावले पनि ठूलो अर्थ राख्ने गरेको पाइन्छ । सञ्जयका प्रतिस्पर्धीहरू रघुबीर महासेठ र महेन्द्र यादव राजनीतिक र आर्थिक दुवै रूपमा सम्पन्न मानिन्छन् । तर, सञ्जय भने जेन–जी आन्दोलनले सिर्जना गरेको जनलहरलाई नै आफ्नो जितको मुख्य आधार मान्छन् ।