धनुषा । धनुषा निर्वाचन क्षेत्र नं. १ मा विभिन्न राजनीतिक दल परित्याग गरी नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने क्रम तीव्र बनेको छ । शनिबार मात्रै गणेशमान चारनाथ नगरपालिका वडा नं. ८, चितहामा आयोजित कार्यक्रममा नेकपा एमालेका दर्जनौं नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् ।
नवप्रवेशीलाई नेकपाका नेता धनुषा–१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार मातृकाप्रसाद यादवले माला लगाएर पार्टीमा स्वागत गर्नुभयो । कार्यक्रममा एमाले परित्याग गरी नेकपामा प्रवेश गर्नेहरूमा सूर्यनाथ यादव, चन्देश्वर यादव, बिन्देश्वर यादव, उदगार यादव र धर्मनाथ यादव रहेका छन् ।
त्यसैगरी धनुषाधाम नगरपालिका वडा नं. १ का महावीर ठाकुर र राम सेवक कापरले पनि एमाले त्याग गरी नेकपामा आबद्ध भएका छन् । वडा नं. ५ का धनेश्वर राय र रत्न ठाकुरले भने नेपाली कांग्रेस छाडेर नेकपामा प्रवेश गरेको जनाइएको छ ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै उम्मेदवार मातृकाप्रसाद यादवले धनुषा–१ मा नेकपाप्रति जनताको आकर्षण बढ्दै गएको दाबी गर्नुभयो । ‘विभिन्न दल परित्याग गरी नेकपामा प्रवेश गर्नेको लहर चलेको छ । यसले संगठनलाई बलियो बनेको छ,’ उहाँले भन्नुभयो।
उहाँले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा धनुषा १ मा नेकपाको जित सुनिश्चित रहेको दाबी गर्दै जनताको साथ र समर्थन निरन्तर बढिरहेको उल्लेख गर्नुभयो ।

