स्थापित र प्रभावशाली नेतालाई सञ्जयको चुनौती, धनुषा–४ मा रोचक भिडन्त

|

ढल्केबर, धनुषा । ३२ वर्षीय सिभिल इन्जिनियर सञ्जयकुमार महतो आसन्न प्रतिनिधिसभा सदसयको निर्वाचनमा धनुषा क्षेत्र नम्बर ४ मा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट उम्मेदवार बनेका छन् । ‘जेन–जी आन्दोलन नभएको भए सायद म अहिले नै चुनाव लड्ने ठाउँमा पुग्ने थिइनँ होला । आन्दोलनका क्रममा राज्यको सम्पत्तिमा क्षति हुनु र सहिद हुनु दुःखद पक्ष हो तर त्यसले हामीजस्ता युवालाई नेतृत्वमा आउने अवसर दियो’ उहाँको भनाइ छ ।

देशव्यापी रूपमा चर्किएको जेन–जी आन्दोलनले नेपाली राजनीतिमा तरंग ल्यायो । भ्रष्टाचारको अन्त्य, दलहरूमा पुस्तान्तरण र निर्णय प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिताको मागसहित सुरु भएको आन्दोलनले सडकदेखि सदनसम्म दबाब सिर्जना ग¥यो । त्यसकै परिणामस्वरूप आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुन लागेको हो ।

निर्वाचन आउन अब दुई साताभन्दा कम समय बाँकी छ । सरकार र दलहरू चुनावी रणनीति बनाउन व्यस्त छन् । बजार, चोक र चिया पसलहरूमा सिट गणित र सम्भावित परिणामको विश्लेषण सुरु भइसकेको छ। सामाजिक सञ्जालमा युवा मतदाताको सक्रियता उल्लेख्य छ ।
आन्दोलनको दबाबपछि केही दलहरूमा पुस्तान्तरणको बहस चर्कियो । नेपाली कांग्रेसभित्र सीमित रूपमा पुस्तान्तरणको संकेत देखिए पनि नेपाल कम्युनिष्ट पार्टी (एमाले) लगायतका ठूला दलहरूको शीर्ष तहमा परिवर्तन भने देखिएन । यद्यपि, दबाबकै कारण केही स्थानमा नयाँ अनुहारले अवसर पाएका छन् ।

तिनै नयाँ अनुहारमध्ये एक हुन् सञ्जय । इन्जिनियरिङ पृष्ठभूमिबाट आएका उनी विकास, पूर्वाधार र सुशासनलाई मुख्य एजेन्डा बनाएर मैदानमा उत्रिएका छन् । सञ्जय भन्छन्, ‘हामीले राजनीति केवल सत्ता र पदका लागि होइन, परिणामका लागि गर्नुपर्छ । इन्जिनियरको रूपमा मैले योजना बनाउने, कार्यान्वयन गर्ने र नतिजा दिने अभ्यास गरेको छु । अब त्यही अभ्यास संसदमा लैजान चाहन्छु ।’

उनको अभियान युवामुखी देखिन्छ । घरदैलो कार्यक्रममा उनी बेरोजगारी, शिक्षा र स्थानीय पूर्वाधार सुधारका मुद्दा उठाउँछन् । सामाजिक सञ्जालमार्फत प्रत्यक्ष संवादलाई प्राथमिकता दिएका छन् । ‘पुराना शैलीको भाषणभन्दा प्रत्यक्ष संवाद प्रभावकारी हुन्छ,’ उनी भन्छन् ।
धनुषा क्षेत्र नम्बर ४ यसपटक निकै रोचक प्रतिस्पर्धाको केन्द्र बनेको छ । यहाँ सञ्जयका मुख्य प्रतिस्पर्धीका रूपमा रघुबीर महासेठ छन् । उनी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रभावशाली नेता तथा पटक–पटक मन्त्री भइसकेका व्यक्तित्व हुन् । २०७४ सालदेखि यस क्षेत्रमा निरन्तर विजय हासिल गर्दै आएका महासेठ संगठन, अनुभव र मत आधारका हिसाबले बलिया उम्मेदवार मानिन्छन् ।

अर्कोतर्फ, महेन्द्र यादव पनि यसै क्षेत्रबाट प्रतिस्पर्धामा छन् । नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री एवं पूर्वमन्त्री यादव मधेश राजनीतिमा प्रभावशाली व्यक्तित्वका रूपमा चिनिन्छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लहर पनि उत्तिकै छ । यी उम्मेदवारबीच ३२ वर्षीय सञ्जयले आफूलाई विकल्पका रूपमा प्रस्तुत गरिरहेका छन् ।
विश्लेषकहरूका अनुसार धनुषा–४ को प्रतिस्पर्धा केवल उम्मेदवारबीचको मतयुद्ध मात्र होइन, पुस्तान्तरण र परम्परागत राजनीतिक शैलीबीचको परीक्षा पनि हो ।

सञ्जय भन्छन्, ‘यो चुनाव मेरो व्यक्तिगत महत्वाकांक्षा मात्र होइन, एउटा पुस्ताको प्रतिनिधित्व हो । यदि मतदाताले अवसर दिनुभयो भने संसदमा युवाको आवाज अझ स्पष्ट रूपमा उठाउनेछु ।’
उनले आन्दोलनका क्रममा देखिएको ऊर्जा मतपेटिकासम्म पुग्ने विश्वास व्यक्त गरेका छन् । तर, चुनौती पनि कम छैन । संगठनात्मक र स्थापित नेताहरूको प्रभावका बीच नयाँ अनुहारका लागि जित सहज छैन ।

स्थानीय मतदाताबीच उत्सुकता मिश्रित देखिन्छ । केही मतदाता अनुभवी नेतृत्वलाई प्राथमिकता दिनुपर्ने तर्क गर्छन् भने केहीले परिवर्तन र नयाँ पुस्ताको पक्षमा मत जाहेर गरिरहेका छन् । युवा मतदातामा भने सञ्जयप्रति आकर्षण देखिन्छ । ‘हामीजस्ता युवाको समस्या बुझ्ने व्यक्ति चाहिएको छ,’ एक स्थानीय युवा मतदाताले भने ।