ढल्केबर, धनुषा ।
धनुषा–४ को चुनावी समीकरणमा नयाँ मोड आएको छ । प्रतिनिधिसभा सदस्यका उम्मेदवार सम्पत महतोले आम जनता पार्टी (आजपा) परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीमा औपचारिक रूपमा प्रवेश गर्नुभएको छ । आइतबार ढल्केबरमा आयोजित एक कार्यक्रमबीच उहाँले नयाँ राजनीतिक यात्राको सुरुआत गर्नुभएको हो ।
कार्यक्रममा उहाँसहित आजपाका चार जना केन्द्रीय सदस्यसमेत रास्वपामा प्रवेश गरेका छन् । रास्वपाका तर्फबाट धनुषा–४ का उम्मेदवार राजकिशोर महतोले सम्पतेसहित नवप्रवेशी नेतालाई पार्टीमा स्वागत गर्नुभयो । कार्यक्रममा आजपाका केन्द्रीय सदस्य सुनितादेवी महतो, फूलप्रश महतो, केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष भरोसी महरा र क्षेत्रीय सचिव रामविनोद पासवानलगायतका नेताकार्यकर्ता दलबलसहित रास्वपा प्रवेश गर्नुभयो ।
कार्यक्रममा रास्वपा प्रवेश गर्नुभएका सम्पतले देशमा इमानदार र उत्तरदायी नेतृत्वको खाँचो औंल्याउनुभयो । उहाँले बालेन शाह र रवि लामिछानेले अघि सारेको परिवर्तनको एजेन्डाबाट आफू प्रभावित भएको बताउनुभयो । ‘एक्लो प्रयासले संरचनात्मक परिवर्तन सम्भव नहुने निष्कर्षमा पुगेपछि यो अभियानमा जोडिन आएको हुँ,’ उहाँले भन्नुभयो । उहाँका अनुसार अहिलेको राजनीतिक अवस्थाले नयाँ सोच र नयाँ शैलीको नेतृत्व माग गरिरहेको छ । त्यसैकारण परिवर्तनको यात्रामा सहभागी हुन आफूले रास्वपा रोजेको स्पष्ट गर्नुभयो ।
कार्यक्रममा बोल्दै रास्वपा उम्मेदवार राजकिशोर महतोले प्रगतिशील राजनीतिक धारलाई बलियो बनाउन सक्षम र प्रतिबद्ध व्यक्तिहरूको आवश्यकता रहेको उल्लेख गर्नुभयो । सम्पत जस्ता उम्मेदवार र नेतृत्वकर्ताको आगमनले धनुषा–४ मा पार्टीको संगठन थप सुदृढ भएको उहाँको विश्वास व्यक्त गर्नुभयो । ‘परिवर्तनका लागि तयार भएका नेतृत्वलाई हामी खुलेर स्वागत गर्छौं,’ उहाँले भन्नुभयो ।

